१४ माघ २०७२, बिहीबार

नेपाल र भारतबीचको सम्वन्ध पछिल्लो ६ दशकमा ज्यादारुपमा उथलपुथलरुपमा नै अगाडि बढेको छ । दुई मुलुकबीचको सम्वन्ध अत्यन्त विशिष्ट प्रकृतिको भनिएपनि सम्वन्ध सदा विरोधाभाष र संषयपूर्ण नै रहँदै आएको छ । झनै भारतले लगाएको पछिल्लो नाकाबन्दीले त नेपालमा भारत विरोधी धार इतिहासकै उच्च देखिएको छ । यस्तो अवस्थामा भारतसंगको सम्वन्धमा पुनरावलोकन र पुनपरिभाषित गर्न सरकारले एक विज्ञ समूह बनाएको छ । यस समूहले कस्तो सुझाव सरकारलाई दिने हो सर्वत्र चासोको विषय भएको छ । विश्वकै पुरानो मध्येको मुलुक नेपालले आफ्नो स्वतन्त्रता र स्वाभिमान प्रति गर्व गर्दै आएको छ । तथापी वि.स. २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नेपालमा छिमेकी मुलुक भारतले देखाउँदै आएको रवैया र अनावश्यक हस्तक्षेपलाई स्वाभिमानी नेपाली जनताले स्वीकार्न सकिरहेका छैनन् । झनै पछिल्लो १५ बर्ष त नेपालको चरम अस्थिरता र जटिल राजनीतिको कारक नेपाली जनताले भारतलाई ठान्दै आएका छन् । नेपालमा नयाँ संविधान निर्माण प्रति भारतले देखाएको असन्तुष्टि र तराई मधेसको आन्दोलनप्रति प्रत्यक्ष सहानुभूति गर्दै भारतले थोपरेको नाकाबन्दीले नेपाललाई थप चिढ्याएको छ । यो समय भनेको नेपाल र भारतबीचको सम्वन्ध सवै भन्दा खराव अवस्था भएको टिप्पणी हुन थालेको छ । यो अवस्थालाई हल गर्न सरकारलाई आवश्यक सुझाव, सिफारिस र आधार तयार गर्न गठित विज्ञ समूहका संयोजक तथा परराष्ट्र विद् डा. भेषबहादुर थापाको भनाईमा यो समूहले दुई मुलुकबीचको तनाव कम गर्न रचनात्मक भूमिका निर्वाह गर्नेछ । नेपाल र भारतबीचको सम्वन्धमा पुनरावलोकन र पुनःसंरचना आवश्यक भएको स्वीकार्दै थापाले आफ्नो समूहले सरकारलाई ठोस सुझावहरु दिने बताउँनुहुन्छ । नेपालप्रतिको भारत नीतिलाई नेपालमा मात्र नभई भारतमा समेत चर्को आलोचना गर्ने गरिन्छ । भारतका थुपै विज्ञ तथा नागरिक अगुवाहरुले भारतले नेपाल जस्तो घनिष्ठ छिमेकीलाई चिढयाएर के हासिल गर्न खोजेको प्रश्न गर्दछन् । विज्ञ समूहका सदस्यहरुले अनौपचारिकरुपमा बताए अनुसार यस समूहले नेपाल र भारतबीच सन् १९५० लगाएत भएका थुप्रै सन्धि, सम्झौता र चासोको विषयहरुवारे गम्भीर समीक्षा गरी सरकारलाई ठोस सुझाव दिनेछ् । नेपालका दलहरुले भारतको राजनीतिक संयन्त्रसंग प्रत्यक्ष सम्वन्ध विकास गर्न नसक्दा नेपाल मामिलामा भारतीय कर्मचारीतन्त्र हावी हुन पुगेर सम्वन्ध खराव हुन पुगेको धेरैले विश्लेषण गर्ने गरेका छन् । आशा गरौं, सरकारद्धारा गठित विज्ञ समूहले दुई मुलुकबीचको सम्वन्धलाई नयाँ उचाईमा पु¥याउन ठोस खाका तयार गर्नेछ ।

 

LIVE TV