
सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तराष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धका बारेमा विश्व परिवेशमा देखिएका भ्रम र अनर्गल प्रचार चिर्न कूटनीतिक पहल सुरु गरिएको जानकारी दिनुभयो । उहाँले विश्वका कतिपय देशका पाठ्यक्रम, त्यहाँ हुने गोष्ठी र कार्यक्रममा बुद्धको जन्मबारे अझै भ्रम रहेको पाएको जानकारी दिनुयभो । उहाँले बुद्धले पाँचवटा प्रमुख चेलालाई पहिलोपटक शिक्षा दिएको र त्यो काम कपिलवस्तुमा भएको बताउनुभयो ।
पर्यटन मन्त्री पोखरेलका अनुसार विश्वभर फैलिएको बुद्धिज्ममा पहिला र दोस्रा महिला भिक्षु पनि नेपालकै हुन् । उहाँले बुद्धकी सानीआमा पहिलो महिला भिक्षु र उनकै पत्नी दोस्रो महिला भिक्षु भएको बताउनुभयो । मन्त्री पोखरेलले भ्रामक कुरा र पाठ्यपुस्तकमा हुने गरेका त्रुटि सच्याउन नेपालसँग कूटनीतिक सम्बन्ध भएकामध्ये यी सात देशलाई बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्यविपरीत हुने कुनै सामग्री प्रकाशन र प्रसारण नगर्न, अभिलेख नराख्न र गरिएको वा राखिएको भए सच्याउन अनुरोध गर्दै पत्राचार गर्न लागिएको जानकारी दिनुभयो । उहाँले विश्वका एक अर्ब बौद्धमार्गीमध्ये एक प्रतिशतलाई नेपाल ल्याएर हालको लुम्बिनी बसाइ लम्ब्याएर पाँचदिने बनाउन पहल भइरहेको जानकारी पनि दिनुभयो ।