
एक महिनादेखि नेपालगन्जको रुपैडिया नाकामा कुनै अबरोध नभए पनि पेट्रोल, डिजेल र ग्यासको आयातमा कमी आएको छ । पुस महिनामा अन्य महिनाको तुलनामा पेट्रोलियम पदार्थको आयात केही बढे पनि गत वर्षको तुलनामा अझै कमी भएको छ । चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्त अर्थात ६ महिनामा गत वर्षको सोही अबधिको ६ महिनाको तुलनामा खाना पकाउने ग्यासको आयातमा १७ प्रतिशत, पेट्रोलमा ४ प्रतिशत र डिजेलमा २ प्रतिशतले कम आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको हो । ग्यासको आयात गत वर्षको पुस महिनामा भन्दा यो वर्षको पुस महिनामा करिब १२ प्रतिशत कम आयात भएको छ। तर ग्यासको माग भने वर्षेनी करिब २० प्रतिशतले बृद्धि हुँदै गएको छ । पेट्रोलियम पदार्थको आयात नबढे पनि मोटरसाइकल, खाद्यान्न, सुर्ती, लगायतका सामाग्रीहरुको आयातमा भने बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
बीरगन्ज नाकामा अबरोध भएका वीरगन्ज नाका हुँदै आयात हुने मोटरसाइकल, खाद्यान्न, सुर्ती लगायतका सामाग्रीहरु समेत नेपालगन्ज नाका हुँदै भित्रने गरेका कारण पुस महिनामा लक्ष्य भन्दा २ सय ४५ प्रतिशतले बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । पुस महिनामा ३२ करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ७९ करोड ९६ लाख राजस्व संकलन भएको छ ।