
धरानलाई पूर्वकै सफा र सुन्दर उपमहानगरपालिकाको रुपमा हेरिएको छ । धरानका गल्ली गल्ली तथा चोकचोकमा कालोपत्रे समेत गरिएको छ । तर धरानको मुटु मानिएको भानुचोकमै फोहोर व्यवस्थापन हुन नसक्दा भानुचोक दुर्गन्धित मात्र बनेको छैन, बाटोमा हिड्ने पैदल यात्री तथा यात्रुहरुले नाक थुनेर हिड्नुपर्ने अवस्था रहदा समेत उपहानगरपालिका भने मौन वसेको छ ।
धरानलाई सफा, स्वच्छ र सुन्दर बनाउनका लागि धरान उपमहानगरपालिकाले सरसफाइसंग सम्बन्धित विभिन्न संस्थासंग मिलेर हप्तामा एक पटक सडकका सम्पूर्ण भाग सफा गर्ने अभियान चलाएपनि त्यो दुई महिनाभन्दा बढी जान सकेन । यसैको परिणति अहिले धरानको भानुचोकमा विहानै डंगुरका डंगुर फोहोर थुपारिएको दृश्य प्रष्ट देख्न सकिन्छ । त्यतिमात्र नभई चोकमै सार्वजनिक शौचालय समेत रहेकोले त्यसको दुर्घन्धको मार समेत सर्वसाधारणले खेप्नु परेको छ । धरान उपमहानगरपालिकाले शौचालय सञ्चालनका लागि ठेकेदारलाई ठेक्का दिएपछि आफ्ना भूमिका नै सकिएको महसुस गरी त्यस स्थानमा फर्केर समेत नहेर्ने परिपार्टी बसेको छ । शौचालय विहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र खुल्ला हुने गरेको छ । बन्द भएको समयमा सार्वजनिक बसमा यात्रा गर्न प्रतीक्षारत यात्रु, सर्वसाधारणले शौचालयको बाहिर नै शौच गर्ने गरेका कारण पनि भानुचौक अत्यन्तै दुर्घन्धित हुने गरेको स्थानीय सर्वसाधारणका भनाई छ ।
भानुचोक वरपर बस्ने सर्वसाधारणमात्र नभई बाटो हिड्ने बटुवासमेत भानुचोकमा रहेको शौचालयको दुर्घन्धबाट पीडित बनेका छन । वरिपरि बसेका घरधनीहरुले जथाभावी फालेको फोहोर शौचालयको दुर्गन्धले समस्या हुँदा समेत धरान उपमहानगरपालिकाले कुनै चासो देखाउन सकेको छैन । यता शौचालयको ठेक्का लिएका धर्मराज तामाङले सडक बालबालिका, मानसिक सन्तुलन विग्रेकाहरुले जथाभावी शौच गरेकोले दुर्गन्ध बढेको बताउनुभयो । आफूहरुले जति सफा गरे पनि फोहर व्यवस्थापनमा अझ समस्या भएको बताउनुभयो ।
यता धरान उपमहानगरपालिकाले हचुवाको जवाफ दिएको छ । धरान उपमहानगरपालिकाका सरसफाइ अधिकृत शिशिर श्रेष्ठले धरान नगरपालिकाले विहान एकपटक सम्पूर्ण भागमा फोहोर उठाएपनि साँझ उस्तै हुने बताउनुभयो ।
धरानमा हाल फोहोर व्यवस्थापनका लागि ५ वटा ट्याक्टर प्रयोग गर्ने गरिएको छ । आन्तरिक आयस्रोतको कमीका कारण विगत २० अगाडिदेखि ६० जना कर्मचारी र ५ जना चालकले नै अहिलेसम्म सरसफाइको काम गरिरहेको छ ।