१३ माघ २०७२, बुधबार

पशुपंक्षी विकास मन्त्रालयले आगामी तीनवर्ष भित्रमा नेपाल पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने प्रक्षेपण गरेको छ । वुधवार पत्रकार सम्मेलन गरी मन्त्रालयले एक वर्षभित्रमा अन्डा, दुई वर्षमा मासु र तीन वर्षमा दूग्धजन्य उत्पादनमा आत्मनिर्भर वन्ने प्रतिवद्धता सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत पौष ९ गतेको मन्त्रीपरिषदको निर्णय बमोजिम पशुपन्छी विकास मन्त्रालयको गठन भएको हो । पहिलो मन्त्रीका रुपमा पदभार सम्हाल्नुभएका शान्ता मानवीले मन्त्रालय गठन भएको एक महिनापछि अन्डा, मासु र दुधमा नेपाल आत्मनिर्भर वन्ने प्रतिवद्धता गर्नुभएको हो । दिनानुदिन वढ्दो युवायुवतीहरुको विदेश पलायनलाई रोक्दै पशुपन्छी पालनमा आकर्षण गर्ने कार्यक्रम समेत ल्याउँन लागिएको मन्त्री मानवीले जानकारी दिनुभयो ।

मन्त्री मानवीले देशलाई समृद्ध बनाउन पशुपन्छी क्षेत्रको विकासले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पशुपंक्षीजन्य वस्तुहरुमा आयातलाई विस्थापित गरी देशलाई आत्मनिर्भर बनाउँने मन्त्रालयको योजना रहेको उहाँले बताउँनुभयो । देशको कुल ग्रार्हस्थ उत्पादनमा पशुपालन क्षेत्रको करिब ११ प्रतिशत र कुल कृषि ग्राहस्थ उत्पादनमा करिब २६.८ प्रतिशत योग्दान रहदै आएको छ । मन्त्रालयले दिगो पशुपंक्षीजन्य उत्पादनका माध्यमले मुलुकलाई खाद्य तथा पोषणमा आत्मनिर्भर बनाई उच्च आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको जनाएको छ । साथै मन्त्रालयले ‘ बधशाला देखि भान्छासम्म, स्वच्छ र स्वस्थ मासु’ तथा गोठ देखि ओठसम्म स्वच्छ र स्वस्थ दूध’ कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

LIVE TV