
देश विदेशका मूर्तिकार तथा कलाकारहरु अहिले सुनसरीको चारकोशे जंगलको बिचमा आफ्नो कला पस्कन व्यस्त छन् । उनीहरु आआफ्नो सिजर्ना र सोंचलाई मूर्तिमा उतार्न तल्लीन छन् । ४० जना कलाकारहरुको उपस्थितिले चारकोशे झाडीबीचमा रहेको तालतलैया आफ्नै तालमा मग्न छ ।
इटहरी उपमहानगरपालिका २ र ३ को बीच भागमा रहेको चारकोशे जङ्गल क्षेत्रको मनोरम पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रमा एकता अन्तरौष्ट्रिय मुर्तिकला कार्यशाला जारी छ । प्राकृतिक तालहरु र बहुमुल्य जडिबुटीका साथै बनभोजका लागि अत्यन्तै सुन्दर एवम मनोरम दृष्यहरुबाट मन लोभ्याउने स्थलका रुपमा रहेको तालतलैया क्षेत्रमा बिदेशी ५ र स्वदेशी २६ गरी ३१ जना तथा सहयोगकी कलाकारहरु समेत गरी झण्डै ४० जना ख्यातिप्राप्त कलाकारहरुको जमघटले यतिखेर तालतलैया क्षेत्रमा ढुंगाबाट आकृति निकाल्ने काम भइरहेको छ । तालतलैया क्षेत्रमा रहेको ४० वटा ढुलढुला ढुङ्गामा सजिव आकृतिसँगै मानव एकताको जीवन्त आकृति निकाल्न अभ्यस्त कलाकार हिम्मत नेम्वाङले हिमाल पहाड र तराईबीच अहिले बिभाजित भई रहेको मनलाई एक आपसमा जोड्ने सुन्दर कलाकृति कुँदिरहेका छन् । साना चुलबुले उमेरदेखि बृद्धबृद्धा उमेरका मानिसहरु समेतको सघन अबलोकनको भिडका बीचमा स्वदेशी र विदेशी कलाकारहरुको एकोहोरो ढुङ्गामा कलाकृतिको खोजी गर्ने सिर्जनात्मक अभ्यासलाई नजिकबाट नियालेर जीवनको आनन्दमा रमाउने समुह पनि तालतलैया क्षेत्रमा निक्कै भिड लागिरहेको छ । तालतलैया क्षेत्रमा ल्याइएको ढुङ्गासँग आकृति खोजिरहेकी इजरायलका मुर्तिकार तान्या प्रेमिञ्जर वरिपरि ढुङ्गामा कलाकृति खोपीरहेकी अवस्थामा थिईन । इटहरीलाई सिँगार्ने र कला र कृतिको सङ्गमस्थल बनाउनका लागि आफुहरुले माघको कठाङ्ग्रिने जाडोमा पनि नभनी मिहेनत गरिरहेको कलाकारहरु बताउछन । माघ ९ गतेबाट शुरु भएको एकता अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशालाको १८ दिने अभियानपछि यो तालतलैया क्षेत्रमा ३० भन्दा बढि सुन्दर कलाकृति भएको मुर्तिहरुको संग्रहालय बन्नेछ । धेरै कलाकारहरु त्यसमा पनि विदेशबाट आएका पाहुना कलाकारहरुको इच्छा र चाहना अनुसार बसोवास ब्यवस्थापन गर्नु पर्ने त्यसमाथि इन्धन एवं लोडसेडिङ्ग आदि समस्याले पनि मुर्तिकला कार्यशाला चलाउन केही समस्या देखिएको छ । यद्धपि कार्यशालालाई सफल पार्नका लागि समितिले भरमग्दुर प्रयास गरिरहेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष बीरबहादुर लिम्वू बताउनु हुन्छ ।