१३ माघ २०७२, बुधबार

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अहिलेको राजनीतिक गतिरोधको निकास छिटै निस्कने विश्वास ब्यक्त गर्नुभएको छ । मधेश केन्द्रित दलहरुका मागहरु संविधान संशोधनवाट पूरा भएकाले अव आन्दोलनको औचित्य नभएको उहाँको जिकिर छ । न्यूज २४ को नियमित प्रस्तुति छ प्रश्नमा नेता ढकालले मधेशी मोर्चाका मागहरु सतहमा देखिए जस्तो नभएको बताउनुभएको हो । उनीहरुले उठाएका मागहरु मधेशका मौलिक मागहरु नभएको र बर्षौंसम्म पूरा हुन नसक्ने उहाँको भनाई थियो । समग्र मधेश एक प्रदेशको माग पनि मधेशबाट नआएको भन्दै ढकालले तराईमा निषेधको राजनीति हावी भएको तर्क गर्नुभयो । निषेधको राजनीतिले मुलुकलाई सही ठाउँमा नलैजाने धारणा राख्दै उहाँले यसले आन्दोलनरत दलहरुको केही समयको आत्मसन्तुष्टिका लागि मात्रै भएको बताउनुभयो । संविधानबारे प्रचाराप्रसार र देशब्यापी जागरण अभियानमा जान मुख्य दलहरुले ढिलाई गरेको स्वीकार गर्दै ढकालले संविधानबारे फैलिएका भ्रमहरु विस्तारै हट्दै जाने दावी गर्नुभयो ।

 

LIVE TV