
काठमाडौंका लागि लाइफ लाइन मानिएको र सबभन्दा बढी राजश्व संकलन गर्ने बीरगञ्ज रक्सौल नाकामा रौनक फर्किएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र भारत सरकारको मुख्य निशानामा परेको यस नाका चार महिना चकमन्न बनेपछि बल्ल आएर चलायमान बन्न थालेको छ । नेपालको संविधानमा गरिएको पहिलो संशोधनप्रति भारत सकारात्मक देखिएसंगै नाकाबाट आयातको अवस्थामा सुधार आएको हो । घोषित रुपमा नाका खोलेर पूर्ववत स्थिति झै व्यापारिक कारोबार नभए पनि व्यापारीहरुले रक्सौल नाकाबाट रातको समयमा टाँगा, ठेलगाडा र भरिया मार्फत सामग्री आयात गरिरहेका छन् । यसरी व्यापारिक सामग्रीको आयात बढेसँगै बीरगञ्ज भन्सार कार्यालयको राजश्व संकलनमा समेत बृद्धि भएको छ । नाकाबन्दीपछि दैनिक २० देखि २५ हजार रुपैया मात्र राजश्व संकलन गर्दै आएको बीरगञ्ज भन्सार कार्यालयले अहिले दैनिक १५ लाखदेखि ५८ लाखसम्म राजश्व संकलन गर्ने गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले जानकारी दिनुभयो ।
संविधान संशोधन हुनुअघि नेपाल–भारतको अन्य व्यापारिक नाका संचालन भएपनि बीरगञ्ज नाका भने ठप्प थियो । केही समयअघिसम्म पूर्णतः आयात निर्यात ठप्प पारे पनि अहिले धर्नाकारीको आँखै अघिबाट सामान आयात गर्दा पनि मोर्चा कार्यकर्ताहरु मौन वस्न थालेका छन् । व्यापारिहरुले तयारी पोशाक, हार्डवेयर, जुत्ता चप्पल, विद्युतीय सामानहरु, दाल लगायतका सामानहरु भरियामार्फत नेपाल भित्रयाईरहेका छन् । भन्सार यार्ड भित्र व्यापारिक सामग्री लोड गर्न मजदुरहरुलाई अहिले भ्याइनभ्याई छ । यसले अब क्रमशः बन्द बीरगञ्ज नाका सहज हुँदै गएको संकेत गरेको छ ।
धर्नामा बस्ने आन्दोलनकारीहरुको संख्या पातलिदै गएका कारण पनि व्यापारीहरुलाई सामान भित्र्याउन सहज भएको छ । अहिले धर्नास्थलमा साधुसन्तहरु र फाटफुट रुपमा मोर्चाका नेता तथा कार्यकर्ताहरु मात्र देखिने गरेका छन् ।
त्यसो त संविधान संशोधनले मधेसको माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी जारी नै रहने बताएको छ । उता भारतले भने संविधान संशोधनलाई ‘सकारात्मक विकास’ का रूपमा टिप्पणी गरेको छ । यस्तो स्थितिकाबीच मधेश केन्द्रित दलहरुले आन्दोलनलाई राजधानी केन्द्रित बनाउँने भन्दै एक साताका लागि मात्रै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुले पनि नाका क्रमशः सहज हुँदै जाने अनुमान गर्न सकिन्छ । नाकाबन्दीले समग्र देशसँगै मधेशका नागरिकको दैनिकी पनि अत्यन्त जर्जर बनिरहेको छ । त्यसैले देश र मधेशका नागरिकको मर्म बुझ्दै आन्दोलनको स्वरुप परिवर्तन गर्नु नै मधेश केन्द्रित दलको हीतमा हुने धेरैको विश्लेषण रहँदै आएको छ ।