
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका लागि सबै जिल्लामा चहलपहल तातेको छ। नेताहरु दौडाहमा व्यस्त छन् भने कार्यकर्ता पनि अधिवेशन तयारीमा जुटेका छन्।
महाधिवेशन नजिकिएसँगै जिल्लामा पार्टीभित्र गुटउपगुटको सक्रियता पनि बढेको छ । केन्द्रमा संस्थापन र देउवानिकट मानिने नेताहरू जिल्लामा भने आफ्नो अस्तित्व देखाउन नयाँ गुट निर्माण गर्न थालेका छन् ।
दीपक अधिकारी
लमजुङ : केन्द्रमा कोइराला परिवारको ‘किचन क्याबिनेट’ को सदस्यका रूपमा चिनिएका केन्द्रीय सदस्य दीलबहादुर घर्तीले संस्थापनको एउटा गुटको नेतृत्व गरिरहेका छन् ।
उनको पक्षमा सांसद चन्द्रबहादुर कुँवरलगायतको समूह छ । पार्टीको केन्द्रीय राजनीतिमा बलियो प्रभावर रहे पनि केन्द्र र जिल्लामा ‘मनोनित’ पदबाहेक निर्वाचित भएर घर्तीले हालसम्म महत्वपूर्ण पद जित्न सकेका छैनन् ।
बाह्रौं जिल्ला अधिवेशनमा यो समूहबाट सभापति पदका लागि लडेका सांसद चन्द्रबहादुर कुँवरले अर्को गुटबाट लडेका कृष्ण कोइरालासँग फराकिलो मत अन्तरले पराजय बेहोरेका थिए । बाह्रौं महाधिवेशनसम्म देउवा समूहमा रहेका गमप्रसाद गुरुङ अहिले यो समूहमा थपिएका छन् । ‘यो समूहबाट मेरो उम्मेदवारी हुने कुरा असत्य होइन’, उनले भने ।
संस्थापनकै अर्को गुट चलाइरहेका पूर्वसभापति शंकरकान्त जोशीले केन्द्रमा खासै प्रभाव नराखे पनि जिल्लामा भने बलियो प्रभाव बनाएका छन् । तर उनको यो समूहले अझै सभापति पदका लागि कसलाई समर्थन गर्ने भनेर मुख खोलिसकेको छैन ।
‘राजनीतिमा स्थायी सत्रु र मित्र भन्ने हुँदैन’, जोशी भन्छन्, ‘हालसम्म प्रचारमा जजसको नामावली आए पनि अन्तिममा तिनै उम्मेदवार हुन्छन् जस्तो मलाई लाग्दैन।’ यो समूहमा पूर्व सहसचिव हरि बराल, नेविसंघका नेता वृषराज गुरुङलगायतका नेता छन् ।
जिल्ला सभापति कृष्णप्रसाद कोइरालाले पनि देउवा समूहको एउटा पक्षसँग मिलेर गुट चलाइरहेका छन् । उनले जिल्लामा आफ्नो प्रभाव बलियो बनाउन देउवा पक्षीय नेताका रूपमा चिनिने तुलसीनारायण श्रेष्ठसँग सहकार्य गर्दै आएका छन् । देउवा पक्षको नेतृत्व गर्दै आएका श्रेष्ठ अहिले ‘पर्ख’ र ‘हेर’ को रणनीतिमा छन् ।
‘भित्री तयारीमा छु’, उनले भने, ‘क्षेत्रीय अधिवेशन सकिएपछि मात्रै कुन पदमा उठ्ने निक्र्यौल होला ।’ उनको गुटमा युवानेता कृष्णबहादुर अधिकारी, क्षेत्रीय सभापति जीवनकुमार श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका अध्यक्ष बाबुराम पौडेल, दलित नेता भीमसेन दमैलगायतका नेता छन् । यो गुटबाट सभापतिका लागि अहिलेसम्म कृष्णप्रसाद कोइरालाको चर्चा छ ।
महाधिवेशन प्रतिनिधि डिकेन्द्रराज कँडेल पनि केही पुराना नेता लिएर छुट्टै गुट चलाइरहेका छन् । यो समुहबाट आफैं सभापतिको उम्मेदवारका रूपमा चर्चा गरेका उनले सभापति पदमा लड्ने उद्घोष सामाजिक सञ्जालबाटै गरिसकेका छन् ।
पूर्वउपसभापति गोविन्दप्रसाद धिताललगायतका संस्थापन पक्षीय केही नेताले उनलाई सहयोग गर्ने चर्चा छ । संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार रहेका महासमिति सदस्य डा.टकराज गुरुङ पुराना नेताहरूले अन्र्तघात गरेको ठानेर आफ्नो छुट्टै समूह बनाएर क्रियाशील भइरहेका छन् ।
बाह्रौं जिल्ला अधिवेशनमा अत्यधिक मत पाएका उनले युवालाई साथ लिएर आफै सभापतिमा भिड्ने सोचाइमा पुगेका छन् । महिला, विद्यार्थी र युवाको सहयोग रहे पनि जिल्लामा प्रभाव बनाएका पुराना नेतासँग बिग्रिएको सम्बन्ध सुधार गर्न नसके उनलाई निर्वाचन जित्न मुस्किल पर्नेछ ।
तर डा.गुरुङले अझै सभापतिको उम्मेद्वारको औपचारिक रूपमा मुख खोलिसकेका भने छैनन् । उनी पनि क्षेत्रीय अधिवेशनको ‘म्यान्डेड’ कुरिरहेका छन् । उनीसँग क्षेत्र नं. १ का सभापति विष्णुप्रसाद धिताल आफैं सभापतिका लागि प्रचार गरिरहेका छन् ।
पूर्वस्वास्थ्य सहायक राज्यमन्त्री डा.रामचन्द्र अधिकारीलगायतको समूहको आफूलाई सहयोग रहेको बताउने धिताल सभापतिमा आफ्नै सम्भावना बलियो रहेको दाबी गर्छन् । देउवा पक्षको आधिकारीक उम्मेदवारका रूपमा गुरुङले चर्चा पाए पनि देउवा पक्षकै बलिया नेता तुलसीनारायण श्रेष्ठलगायतका नेतासँगको सहकार्यबिना उनलाई सभापति जित्न मुस्किल पर्नेछ ।
त्यस्तै तरुण दलका पूर्व महासचिव यमबहादुर गुरुङ पनि जिल्लामा छुट्टै गुट बनाउन थालेका छन् । भर्खरै देउवा पक्षबाट संस्थापन पक्षमा आएका उनले केही पुराना र युवाको आफूलाई सहयोग रहने दाबी गरेका छन् । हालसम्मको अवस्था हेर्दा सभापति पदमा अहिले चर्चामा रहेका उम्मेदवारमध्ये कसैको सभापति जित्नका लागि बलियो जनमत देखिँदैन ।
अहिले मौन बसेका पूर्वजलस्रोत राज्य मन्त्री रामबहादुर गुरुङले कसलाई सहयोग गर्छन् एकीन भएको छैन । उत्तरी भेगका केही गाविसमा राम्रो प्रभाव बनाएका उनको सहयोग पाउन सबै गुटका नेता क्रियाशील छन् । ‘लमजुङको राजनीति अनौठो छ’, कांग्रेस लमजुङका संस्थापक सभापति तारानाथ कोइराला भन्छन, ‘केन्द्रमा एउटै लाइन भए पनि जिल्लामा सबै आफैं नेता बन्न खोज्ने प्रवृत्ति छ ।’
अर्घाखाँचीमा ६ जनाको दाबी
प्रेम आचार्य,
अर्घाखाँची: कांग्रेसको १३ औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नाम सभापतिका लागि चर्चामा आएझैँ अर्घाखाँची जिल्लामा ६ जनाको नाम चर्चामा छ । जिल्ला कार्य समितिको सभापतिको विषयले अर्घाखाँचीमा हिँजोआज चर्चा पाएको छ ।
सदरमुकाम सन्धिखर्कका चोक, गल्ली, चिया पसलमा मात्र होइन गाउँगाउँमा कांग्रेस महाधिवेशन र जिल्ला अधिवेशनमा को सभापति बन्छ ? भन्ने विषय चर्चामा छ । जिल्ला सभापतिका लागि वर्तमान सभापति कमलप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य विष्णुप्रसाद खनाल मुस्कान, जिल्ला सचिव बासुदेव आचार्य, महासमिति सदस्य श्यामनाथ कास्यप र जिल्ला सदस्य माधव भुसालको नाम चर्चामा छ ।
कांग्रेसका एकथरी नेता भने गएको जिल्ला अधिवेशनमा कमलप्रसाद भुसाल, विष्णु मुस्कानबीच निर्वाचन गराउँदा कार्यक्रर्तामाझ मेलमिलाप हुन नसकेको भन्दै सर्वसहमतिबाट पूर्व जिल्ला सभापति पिताम्बर शर्मालाई सभापति बनाउनुपर्ने भन्दै हिँडेका छन् ।
अहिलेको अवस्था हेर्दा जिल्ला सभापति को बन्ने भन्ने अडकल गर्न सजिलो छैन । वर्तमान सभापति कमलप्रसाद भुसाल सालिन, कार्यकर्ताको भावना बुझ्ने, सुखदुःखमा साथ दिने र सबैलाई एउटै नजरबाट हेर्ने नेताको रूपमा चिनिएका छन् । उनले जिल्लाका सबै क्षेत्रमा आफू हिँडेको र अधिकांश कार्यकर्ताले सभापतिमा उठनुपर्ने बताएका कारण आफ्नो जित हुने दाबी गरेका छन् ।
१२ औं जिल्ला अधिवेशनमा कमल भुसालसँग मात्र ६ भोटले हारेका विष्णु खनाल मुस्कान मिजासिलो, अरू पार्टीका नेताहरूसमेत मिलाउन सक्ने, विकास निर्माणमा काममा अग्रसर हुने र कार्यकर्ताका लोकप्रिय नेताको रूपमा चिनिन्छन् । खनालले जिल्लामा कांगे्रस कार्यकर्तालाई एकै स्थानमा लिएर हिँडन आफू सक्षम रहेको र कार्यकर्ताको भावना पनि त्यही रहेकाले जित निश्चित भएको दाबी गरेका छन् ।
अर्का प्रत्यासी अहिलेका सचिव बासुदेव आचार्य लागेको कुरा बोलिहाल्ने, पार्टीमा सक्रिय, कार्यकर्तामाझ। लोकप्रिय, विकासका कार्यमा लाग्ने, कसैसँग नझुुक्ने र नेता देउवाका नजिकका नेताका रूपमा चिनिन्छन् ।
आफू युवा भएको र सबैको मनोभावना बुझ्ने भएकाले आफ्नो जित हुने दाबी उनको छ । अर्का प्रत्यासी श्यामनाथ कास्यप प्रवासमा राजनीतिसँगै जिल्लाको पूर्वी भेगमा कांग्रेसको नेतृत्व लैजानुपर्ने दाउमा छन् । अर्का प्रत्यासी माधव भुसाल सहमतिमा आफू सभापति हुुन चाहेको र आफू सभापति भएमा जिल्लामा देखिएको कार्यकर्ताको तिक्तता मेटाउने बताउँदै आएका छन् ।
केन्द्र र अन्य जिल्लामा कोइराला पक्ष र देउवापक्षबीच घम्साघम्सी हुने भए पनि अर्घाखाँचीमा केन्द्रीय दुई नेताको रूपमा गुट र खेमा १२ औं जिल्ला अधिवेशनमा पनि देखिएन । १३ औँ अधिवेसनमा पनि नदेखिने सम्भावना बलियो छ ।
यहाँका नेताहरू आफ्नै टिम बनाएर हिँडेका छन् । विगतका जिल्ला अधिवेशनलाई हेर्दा कांग्रेस अर्घाखाँचीका केन्द्रीय नेता ढुन्डिराज शास्त्री, मानबहादुर विक, रेवतीप्रसाद भुसाल, पुष्पा भुसाल र डा. रामबहादुर विसीको साथ र समर्थनले कस्ले जित्ने भन्ने निर्णय हुुने गरेको देखिन्छ । अहिलेसम्म जिल्लाका केन्द्रीय नेताहरू खासै खुलेर बोलेका छैनन् ।
सुनसरी कांग्रेसमा चुनावी सरगर्मी
रत्नप्रसाद आचार्य,
धरान: तेह्रौं महाधिवेशनको संघारमा सुनसरी कांग्रेसमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सुनसरीका कांग्रेस नेताहरू नेतृत्व हत्याउन कार्यकर्ताका घरदैलोमा पुगेर भोट मागी रहेका छन् । केन्द्रीय महाधिवेशनअगाडि जिल्ला, नगर र निर्वाचन क्षेत्रको अधिवेशन गर्नुपर्ने भएपछि कांग्रेसमा प्रतिस्पर्धा बढेको हो । माघ १५ गते गाउँ, नगर, माघ २२ मा क्षेत्र साथै माघ २७ मा जिल्ला अधिवेशन हुँदैछ ।
कांग्रेस संस्थापन पक्षले सोमबार धरानमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेस संस्थापन पक्षका कार्यकर्ताले शक्ति पदर्शन गरी धरानमा मोटरसाइकल र्याली निकाले । कांग्रेस सुनसरीमा दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेपछि संस्थापन पक्षले धरानमा शक्ति पदर्शन गरी सहभोजको समेत आयोजना गरेको हो ।
धरानको शिव मार्गबाट निस्किएका कांग्रेस संथापन पक्षका कार्यकर्ताको मोटरसाइकल र्याली धनकुटे रोड, रमाइलो चोक, राँगाचोक, पुलती लाइन, भानुचोक, महेन्द्र पथ, छाताचोक, लक्ष्मी सडक, बुद्धचोक, रत्नचोक, रेल्वे हुँदै सप्तरंगी पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै कांग्रस संस्थापन पक्षबाट धरान उपमहानगरपालिको सभापतिमा तिलक राईले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै राईले कांग्रेसमा अब परिवर्तनशील युवाको नेतृत्व आउन जरुरी रहेकाले क्रियाशील सदस्यसमक्ष आफूलाई भोट दिएर विजयी गराउन अनुरोध गरे ।
कांग्रेस सुनसरीको नेतृत्वका लागि पार्टी संस्थापन पक्षका वर्तमान सभापति राजीव कोइराला, संस्थापनकै रामबहादुर बस्नेत र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका अगमलाल चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
धरान उपमहानगरपालिकामा भने संस्थापन पक्षका तिलक राई र देउवा पक्षका हालका सभापति किशोर राई भिड्ने भएका छन् । यस पटक संस्थापन पक्षले क्रियाशील सदस्य बढी स्वीकृत गराएपछि किशोरको अवस्था कमजोर रहेको आँकलन गरिएको छ । इटहरीमा उपमहानगरमा सभापतिका हालका सभापति हेमकर्ण पौडेल र देउवा पक्षका विकास केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
इनरुवा नगर सभापतिमा संस्थापनकै राजन मेहताले दोहोर्याउने भएका छन् । देउवा पक्षका श्रवण यादवले पनि इनरुवा नगरसभापतिमा उम्मेदवारी दिने भएका छन् । सुनसरीबाट चन्द्र श्रेष्ठ, विनोद राई, दिलकुमारी राई, सीताराम मेहता, मीना सुब्बा, मीन विकलगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइएको छ ।
स्याङ्जामा कोइराला र देउवा गुटको प्रतिस्प्रर्धा
भवानी अधिकारी,
स्याङजा: कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि यही माघ १५, २२ र २५ गते हुने वडा/गाउँ, नगर र जिल्लास्तरको निर्वाचनमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
जिल्लाका नेताहरू पनि आआफ्ना गुट बोकेर गाउँगाउँमा प्रचारप्रसार अभियानमा हिँडेका छन् ।
कोइराला पक्षबाट जिल्ला सभापति पदमा खगेन्द्र रेग्मी, भोजराज अर्याल र शिवकुमार गिरी तथा देउवा पक्षबाट कमलप्रसाद पंगेनी प्रतिस्प्रर्धामा छन् । सभापति पदमा रेग्मी र पंगेनीबीच नै बढी प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ ।
रेग्मी राष्ट्रिय सभाका पूर्वसांसद र पूर्वसभापति पनि हुन् भने पंगेनी १२औं जिल्ला अधिवेशनबाट निर्वाचित बहालवाला सभापति र व्यवस्थापिका संसदका निर्वाचित सदस्य हुन् । भोजराज अर्याल र शिवकुमार गिरी दुवै महासमिति सदस्य हुन् ।
यसैगरी सचिव पदका लागि कुमार राना र भरतप्रसाद लम्सालको नाम चर्चामा छ । राना बहालवाला सचिव हुन् भने लम्साल शिक्षक संघका केन्द्रीय सदस्य हुन् । दुवै सचिव पदका प्रत्यासी कोइराला पक्षधर मानिन्छन् ।
यसैगरी ३ वटा निर्वाचन क्षेत्रमा क्षेत्र नं. १ का सभापतिका पदका लागि तुलसीराम रेग्मी र दीर्घनारायण मरासिनी, क्षेत्र नं. २ का लागि केदार काफ्ले र अर्जुनप्रकाश अर्यालबीच र क्षेत्र नं. ३ का लागि ईश्वर खाँण, गुरु भट्टराई, यामप्रसाद पाण्डे र श्याम बस्यालबीच प्रतिस्प्रर्धा हुने भएको छ । क्षेत्र १ का तुलसीराम रेग्मी, २ मा केदार काफ्ले र ३ मा ईश्वर खाँड बहालवाला सभापति हुन् ।
स्याङ्जामा ४ नगरपालिका ५३ गाविससहित ३ निर्वाचन क्षेत्र छन् । बाह्रौ अधिवशनमा ७ हजार ३ सय क्रियाशील सदस्य रहेको स्याङ्जामा हाल १२ हजार क्रियाशील सदस्य छन् । क्रियाशीलमध्ये ३० प्रतिशत महिला रहेको कांग्रेस स्याङजाले जनाएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरू दिनप्रतिदिन बढ्दो छ । महाधिवेशन प्रतिनिधि मतदातासँग मत माग्न घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । जिल्लाबाट तीनजना क्षेत्रीय सभापतिसहित ३९ जना महाधिवेशन प्रतिनिधिका लागि सयभन्दा बढी आकांक्षी देखिएका छन् ।
इलाममा १९ आकांक्षी
तोयानाथ भट्टराई,
इलाम: कांग्रेसको गाउँ, नगर र क्षेत्रीय अधिवेशन नजिकिन थालेपछि तीन क्षेत्र र तीन नगरपालिका रहेको इलाममा १९ जना क्रियाशील सदस्यले क्षेत्र र नगरका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।
चार दिनपछि हुने गाउँ नगर अधिवेशन र दस दिनपछि हुने क्षेत्रीय अधिवेशनका लागि अघिकाशं उम्मेदवार गाउँ पसेका कांग्रेसका युवा नेता विष्णु कार्कीले जानकारी दिए । निर्वाचन क्षेत्र न. १ मा दुर्गा बराल, मिलन क्षेत्री र मोहन श्रेष्ठ क्षेत्रीय सभापतिको जिम्मेवारी लिन गाउँगाउँमा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
निर्वाचन क्षेत्र न. २ मा वर्तमान क्षेत्रीय सभापति गोविन्द गिरीले नै दोहोर्याउने पक्काजस्तै भएको कार्कीले बताए । क्षेत्र न. ३ मा भने पाँचजना क्षेत्रीय सभापतिका आकाँक्षी छन् ।
वर्तमान सभापति रमेश सुवेदी, गोविन्द पौड्याल, नुतनदेव दुलाल, ईश्वर चिपालु र निरज खड्गीले सभापतिको रूपमा आफूलाई उभ्याउने घोषणा गरेका छन् । इलामका तीनवटै नगरपालिकामा पनि तीनभन्दा माथिको प्रतिस्प्रर्धा हुने पूर्वसभासद् टीकाराम सुब्बा बताउँछन् ।
इलाम नगरपालिकामा होम बस्नेत, निर्मल राउत र सर्वित बुढाथोकीले नगर सभापतिमा निर्वाचन ‘फेस गर्ने’ बताएका छन् । सूर्योदय नगरपालिकामा सोनाम छिरिङ काजी, मणि गुरुङ र ज्ञानिराम श्रेष्ठले नगर सभापतिका रूपमा भोट माग्न थालेका छन् ।
पूर्वसभासद् सुब्बा सहमतिको अधिकतम प्रयास गरे पनि निष्कर्ष नआएको बताउँछन् । देउमाई नगरपालिकामा कृष्ण बराल, दिलीप कार्की, तारा ढुंगाना र अर्जुन बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय कांग्रेस नेता मनकुमार प्रधानले सहमतिको प्रयास जारी रहेको बताए ।- अन्नपूर्ण पोष्ट