१३ माघ २०७२, बुधबार

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको १३ औं महाधिवेशन रोक्ने षड्यन्त्र गरेको आरोप लगाएको छ ।

emaleparty

सभामुख ओनसरी घर्तीको अगुवाइमा सोमबार सिंहदरबारमा राखेको प्रमुख पाँच दलका शीर्ष नेता र प्रमुख सचेतकको बैठकमा कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले एमालेले आफ्नो पार्टीको महाधिवेशन रोक्ने षड्यन्त्र गरेको आरोप लगाएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

संसदीय नियमावली अनुमोदन गराउन प्रमुख दलका नेतासँग परामर्श लिन सभामुख घर्तीले बोलाएको बैठकपछि श्रेष्ठले भने, ‘कांग्रेसको १३ औं महाधिवेशन माघ १५ गतेदेखि प्रारम्भ हुँदैछ । त्यसलाई प्रभाव पार्ने गरी संसदीय नियमावली पारित गर्न कानुन मन्त्री अग्निप्रसाद खरेलले खेलेको भूमिका शंकास्पद छ ।’

कानुनमन्त्री खरलेप्रति आक्रोशित देखिएका श्रेष्ठले भने-‘कानुनमन्त्रीले बोल्नै नपर्ने कुरा बोल्नुभयो । त्यो कुरा बोल्न उहाँको दायित्वभित्र पर्दैन ।’

कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत माघ १५ गतेदेखि गाउँ, २२ गते क्षेत्र, २५गते जिल्ला र फागुन २१ देखि केन्द्रीय महाधिवेशन हुने भएकाले अधिकांश सांसद जिल्लामा गइसकेको उल्लेख गर्दै श्रेष्ठले अहिले संसदीय नियमावली फेर्ने कसरत हुनु कांग्रेस महाधिवेशन भाँड्ने षड्यन्त्र रहेको बताए ।

 

LIVE TV