
महाधिवेशन २०–२३ फागुनमै, तल्लो तहका अधिवेशन पनि तोकिएकै मितिमा, लगातार तेस्रोपटक जिल्ला सभापति हुन नपाइने
क्रियाशील सदस्यताको विवाद मिलाउने र जिल्ला सभापति कतिपटक हुन पाउने भन्ने टुंगो लगाउन कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बिहान ९ बजेलाई डाकिएको थियो । आकस्मिक भन्दै डाकिएको बैठकमा भाग लिन अधिकांश केन्द्रीय सदस्य समयमै केन्द्रीय कार्यालय सानेपा पुगे । केन्द्रीय सदस्यका लागि भित्र बैठक हलमा होइन, बाहिरै आागनमा प्लास्टिकका कुर्सी राखिएको थियो । उनीहरूलाई त्यहीा बस्न भनियो ।
केन्द्रीय सदस्यहरू बाहिर चिया खाएर घाम ताप्न थाले । सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भित्र बैठक सुरु गरे । भित्र नेताहरू छलफल गरिरहेका थिए, बाहिर कर्मचारीले केन्द्रीय सदस्यहरूलाई माइन्युटमा हस्ताक्षर गराइरहेका थिए । भित्रको बैठक नसकिएसम्म सबै केन्द्रीय सदस्यलाई बाहिर प्रतीक्षा गर्न भनिएको थियो । सुजाता कोइराला भने दिक्क मानेर बीचमै हिाडिन् । करिब अढाई घन्टापछि झन्डै पौने १२ बजे निर्णय भयो भन्दै शीर्ष नेता बाहिरिए ।
सभापति कोइरालाले महाधिवेशन पनि नजिकिएको र आकस्मिक रूपमा केही निर्णय गर्नुपरेकाले बैठक डाकिएको बताए । उनले केन्द्रीय समितिको निर्णय केन्द्रीय सदस्यलाई सुनाउन महामन्त्री कृष्ण सिटौलालाई निर्देशन दिए । बैठकको निर्णय जानकारी दिन केन्द्रीय सदस्यतिर फर्किएर ६ जना नेता बसेका थिए, आफूहरू सहभागी नभएको केन्द्रीय समितिले कस्तो निर्णय गरेछ भनेर केन्द्रीय सदस्यहरूले ध्यानपूर्वक सुनिरहेका थिए । कोही बसिरहेका थिए, पछाडिपट्टिका धेरै उभिएका थिए । भीडमा को पत्रकार हो, को कार्यकर्ता र को केन्द्रीय सदस्य हो भनेर छुट्याउन गाह्रो थियो ।
बैठकमा सहभागी नगराई पदाधिकारीले निर्णय गरेर आफूहरूलाई साक्षी मात्र राख्न खोजिएको भन्दै केन्द्रीय सदस्यहरूले पहिलेदेखि नै कुरा गरिरहेका थिए । सिटौलाले १० बुादे निर्णय सुनाउन थाल्दा केही सदस्यले होहल्ला गर्न थाले । चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल र मीना पाण्डेले हात उठाए पनि नेताहरूले वास्तै गरेनन् । त्यतिन्जेलसम्म सिटौलाले १० बुादे निर्णय सुनाइसकेका थिए ।
ड्ड लगत्तै देउवाले माइक लिादै भने, ‘अब हामीसँग महाधिवेशनका लागि समय छैन । सदस्यता सम्बन्धमा मलाई पनि चित्त बुझेको छैन । हाम्रै सिको गरेर एमाले र एमाओवादीसमेत पाँच वर्षमा अधिवेशन गर्नतिर लागिसके । अब हामीले झमेला गर्ने वेला छैन ।’
देउवाले बोल्दाबोल्दै केन्द्रीय सदस्य गगन थापाले प्रश्न गरे, ‘क्रियाशील सदस्यतामा त्रुटि भयो भनिएको छ, त्यसको व्याख्या के हो ?’ तर, पदाधिकारीहरू सकेसम्म छिटो बैठक टुंग्याएर हिाड्न हतारिएका थिए । उनीहरूले जवाफ दिएनन् ।
अर्कोतिर केन्द्रीय सदस्य रामचन्द्र तिवारी एकोहोरो बोलिरहेका थिए । ‘महोत्तरीमा गाउँ, नगर, क्षेत्र र जिल्ला सबैतिरबाट विधि प्रक्रिया पुर्याएर वितरण गरिएका सदस्यता किन खारेज गरियो ?’ उनले चर्को रूपमा कारण दिन माग गरे, ‘छानबिन समितिले किन महोत्तरीका सबै सदस्यता रोक्यो ?’ अन्तत: सभापति कोइराला पनि जंगिए । उनले सदस्यताको विषय प्राविधिक त्रुटि हो भनेर अघि बैठकले व्याख्या गरेको होइन भनेर चर्को स्वरमा प्रश्न गर्दै सिटौलातिर फर्किए । तर, सिटौला बोलेनन्, तिवारी रोकिएनन् । अन्य सदस्यहरू पनि बोलिरहेका थिए । विवाद चर्किंदै जान थालेपछि मिडियालाई त्यहाँबाट बाहिर निकालियो । यता प्रवक्ता बडूले मिडियालाई ब्रिफिङ गर्न थाले, उता सभापति कोइरालाले बैठक टुंग्याए ।
महाधिवेशन अब नसर्ने
कांग्रेसको १३औँ महाधिवेशन चारपटक मिति घोषणा हुँदै स्थगित गर्दै अन्तिममा २० देखि २३ फागुनमा काठमाडौंमा गर्ने निर्णय छ । वडा, नगर, गाउँ तहका अधिवेशन १५ माघबाट सुरु हुँदै छन् । अब महाधिवेशन नसर्ने सभापति सुशील कोइरालासहित वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौलाले केन्द्रीय समिति बैठकमा सुनाएका छन् ।
लगातार तेस्रोपटक जिल्ला सभापति हुन नपाइने
लगातार दुईपटक जिल्ला सभापति भएकाले १३औँ महाधिवेशनमा उम्मेदवार हुन नपाउने भएका छन् । तर, पार्टी एक हुँदा सहसभापति भएकाहरूको हकमा भने यो नियम लागू हुनेछैन । इलामका केशव थापा, संखुवासभाका तारामान गुरुङ, धनकुटाका मनोहरनारायण श्रेष्ठ, मोरङका अमृत अर्याल, सोलुखुम्बुका आंगेलु शेर्पा, सिरहाकी सीतादेवी यादव, रामेछापका रामचन्द्र खड्का, धनुषाका रामसरोज यादव, धादिङका रामनाथ अधिकारी, काभ्रेका शिवप्रसाद हुमागाईं, सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत, कास्कीका यज्ञबहादुर थापा, मुस्ताङका सुवर्णकुमार विष्ट, रोल्पाका कृष्णबहादुर घर्तीमगर, सुर्खेतका तप्तबहादुर विष्ट, दार्चुलाका महादेव बडू, कञ्चनपुरका बहादुरसिंह थापा, बझाङका पृथ्वीबहादुर सिंह, बाजुराका मनबहादुर रावल र बैतडीका नरबहादुर चन्द यसपालि सभापतिमा उम्मेदवार हुन पाउने छैनन् ।
एक वर्षयता सदस्य भएकालाई मताधिकार
पछिल्लो एक वर्षभित्र क्रियाशील सदस्य बनेकाले १३औँ महाधिवेशनमा भाग लिन पाउने भएका छन् । विधानको धारा ४ को उपधारा १३ को व्यवस्था निलम्बन गरिएको छ । ‘विधानमा महाधिवेशन हुने एक वर्षभित्र बनेका सदस्यले भाग लिन नपाउने भन्ने थियो, तर नयाँ सदस्य धेरै थपिएकाले धारा निलम्बन गरिएको हो,’ प्रवक्ता बडूले भने । कांग्रेसमा डेढ लाख सदस्य थपिएका छन् ।
क्रियाशील सदस्यको त्रुटि सच्याइने
कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यको सूचीमा रहेको त्रुटि प्राविधिक मानेर सच्याई निर्वाचन समितिले लागू गर्ने निर्णय गरेको छ । राधेश्याम अधिकारी संयोजकत्वमा निर्वाचन समिति छ । कांग्रेसले चार लाख ७० हजारको सदस्यता सूची वेबसाइटमा राखेपछि केन्द्रीय कार्यालयमा दुई हजारभन्दा बढी निवेदन परेका छन् ।
भट्टराईको नाम हटाउन खोजेकोमा विरोध
राष्ट्रिय आमसञ्चार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका प्रथम अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाम सरकारले हटाउन खोजेको भन्दै कांग्रेसले विरोध गरेको छ । आमसञ्चार प्रतिष्ठानमा भट्टराईको नाम यथावत् राख्न माग गरिएको छ ।
केन्द्रीय सदस्यले नै अधिवेशन हुन नदिने
महोत्तरीमा क्रियाशील सदस्यता वितरणमा मनलाग्दी गरिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य रामचन्द्र तिवारीले जिल्ला अधिवेशन नै हुन नदिने चेतावनी दिएका छन् । ‘विधि र प्रक्रिया सबै पुर्याएको फर्मलाई रोक्ने काम भएको छ । उजुरी गरे पनि सुनुवाइ भएन,’ तिवारीले नयाँ पत्रिकासँग भने, ‘महोत्तरीमा एमाले र माओवादी कार्यकर्तालाई सदस्यता दिइएको छ, महोत्तरीमा अधिवेशन हुँदैन, हामी गर्न दिँदैनौँ ।’- नयाँ पत्रिका