
मधेस आन्दोलनका कारण पछिल्लो पाँच महिनादेखि पेट्रोलियम पदार्थको मार खेप्दै आएका धनुषा सहित मध्य तराईका निजी सावारीलाई कोटा प्रणालीबाट पेट्रोल र डिजेल वितरण सुरु गरिएको छ । निगमको धनुषा महेन्द्रनगर डिपोमा मौज्दात इन्धनबाट कोटा प्रणाली मार्फत वितरण सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम महेन्द्रनगर डिपो, पेट्रोलिय डिलर्स एशोसिएशन,बस व्यवसायी संघ, ट्रक व्यवासयी संघ र ढुवानी व्यवसायी संघको संयुक्त वैठकबाट धनुषा,महोत्तरी,सिन्धुली सहित मध्य तराईका जिल्लामा कोटा प्रणालीबाट पेट्रोलियम पदार्थ वितरण सुरु गरेको हो । मध्य तराईका जिल्लामा बढ्दै गएको पेट्रोलियम पदार्थको कालोबजारी तथा अभावलाई ध्यानमा राखी निगमको धनुषा महेन्द्रनगर डिपोमा मौज्दात इन्धनबाट कोटा प्रणाली मार्फत वितरण सुरु गरिएको महेन्द्रनगर डिपोका प्रमुख मोहनकुमार साहले जानकारी दिनुभयो । निजी सवारी साधन तर्फ मोटरसाईकललाई पाँच लिटर पेट्रोल र चारपांग्रे सवारी साधनलाईं सम्बन्धित संघका सिफारिसको आधारमा डिजेल उपलब्ध गराईने व्यवस्था मिलाईएको उहाँले बताउँनुभयो । अभावलाई सहज बनाउन तथा कालोबजारी न्यूनिकरण गर्न कोटा प्रणालीबाट पेट्रोलियम पदार्थ वितरण सुरु गरिएको उहाँको कथन थियो । पेट्रोलियम पदार्थ भरिएका ट्यांकर आउन नसकेका कारण तराईका बजारमा इन्धन अभाव भएको छ । त्यसलाई यथासक्य सहज तुल्याउन पहल भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउँनुभयो ।