१२ माघ २०७२, मंगलवार

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको आज नौ महिना पूरा भएको छ । भूकम्पको ९ महिना पूरा भैसक्दा पनि पीडित भने सकसपूर्ण जिन्दगी बिताउन बाध्य छन् । सरकारले भूकम्प प्रभावितहरुका समस्या समाधान गर्न ठोस कार्य योजना ल्याउन नसकेकोमा सर्वत्र आलोचना भैरहेको छ । गत बैशाख १२ गतेको भूकम्पपछि झरी र बादल खेपेका पीडित अहिले जाडोमा पनि त्यही प्लाष्टिक र जस्ताका अस्थायी टहरामा दिनरात बिताउन बाध्य छन् । सरकारले पुनर्निर्माण र राहत वितरणको काम बेलैमा सुरु गर्न नसक्दा पीडितले कष्टकर जीवन बिताउनु परेको छ । चिसोमा न्यानो कपडा किन्नका लागि भन्दै सरकारले १० हजार रुपैयाँ वितरण गरिरहे पनि सबैले पाएका छैनन् । पिडितको संख्या बढेको भन्दै भूकम्प प्रभावित १४ जिल्लामा फेरि तथ्यांक संकलन गरिएको छ । भुकम्पपछिको पुनर्निर्माणमा भएको ढिलासुस्ती र पीडितको समस्यामा सरकारी पहलप्रति सरकारका मन्त्रीहरु नै सन्तुष्ट छैनन् । नयाँ सरकार गठनको झण्डै ३ महिनापछि पुनर्निर्माण प्राधिकरणका सिइओको नियुक्तिसंगै गत माघ २ गते मात्रै पुनर्निर्माण अभियानको सुरुवात गरिएको छ । यस अभियान अन्तर्गत आगामी २०७३ वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित प्रत्येक गाविस र नगरपालिकामा पुनःनिर्माण कार्य सुरु गरिसक्ने योजना बनाएको छ । यद्यपि, भूकम्पको १ बर्षपछि पुनर्निर्माण शुरु गर्ने सरकारी योजनाप्रति भूकम्प प्रभावितहरु उत्साहित भने भएका छैनन् । भूकम्पमा परेर भत्किएका संरचनाको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग र सहुलियत दरको ऋण सहायता गरी चार खर्ब १० अर्ब दिने प्रतिबद्धता जनाए पनि सरकारसंग यथेष्ट योजना नहुंदा दाताहरुले दिने रकम पनि प्राप्त हुन सकेको छैन । उक्त भूकम्पका कारण झण्डै ९ हजार मानिसहरुले ज्यान गुमाएका थिए भने ६ लाख ८ हजार १ सय ५५ घर पूर्णरुपमा र दुई लाख ९८ हजार ९ सय ९८ घरगोठ आंशिक रुपमा क्षति भएका थिए ।

LIVE TV