भूकम्प पीडित जनतालाई चिसोका कारण परेको असर बारे सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण



प्रकाशित मिति : Jan 25, 2016

सासंदहरुले भूकम्पपीडित जनता चिसोका कारण अकालमा मर्न बाध्य भएको अवस्थामा सरकारले प्रभावकारी रूपमा राहत वितरण गर्न नसकेको भन्दै गुनासो गरेका छन् । व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समयमा धारणा राख्दै सांसदहरुले भूकम्प पीडितको अवस्थाप्रति गम्भीर बन्न ढिला भइसकेको बताएका छन् । विशेष समयमा धारणा राख्दै साँसद नबिन्द्रराज जोशीले भूकम्प गएको नौ महिनासम्म पनि सरकारले ठोस र प्रभावकारी रूपमा योजना ल्याउन नसकेको बताउनुभयो । उहाँले
भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणलाई राजनीति गर्ने थलो बनाइएको आरोप लगाउनुभयो ।

vlcsnap-7585-08-07-06h58m43s783

सांसद ऋषिकेश पोखरेलले मोरङको रङ्गेली घटनाबाट पीडित भएकालाई तत्काल राहत, क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले घाइतेको स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद सूर्यप्रकाश बाला राईले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल–भारत सीमाको प्रभावकारी नियमन गर्न र विगतमा मित्रराष्ट्रसँग गरिएको द्विपक्षीय सम्झौताको पुनरावलोकन गर्न आग्रह गर्नुभयो । सांसद अनुराधा थापामगरले भूकम्प गएको नौ महिना बित्दासमेत भूकम्पपीडित पालमुनि नै जीवन निर्वाह गर्न बाध्य भएको भन्दै प्रभावकारी राहतको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com