११ माघ २०७२, सोमबार

एकीकृत नेकपा माओवादी भित्र धेरै समय सहज भन्दा पनि असहज अवस्थामा आफुलाई उभ्याएका बाबुराम भट्टराई माओवादी त्याग्दा धेरैले भने – बाबुराम वहकिए । सरकारमा वस्दा राम्रा भन्दा पनि चाम्रा काम बढी गरेका बाबुरामको राम्रा काम भने देखिने र अनुभूत गर्न मिल्ने दीर्घकालिन खालका छन् । नयाँ शक्तिको दौडमा लागेका यिनै बाबुराम आइतबार कलाकार , पूर्व प्रशासक र व्यापारी उद्योगपति लिएर प्रस्तुत भए , उनको त्यही ट्रेलरको बजारमा चर्चा चलिनै रहेको छ ।

BABURAM NAYA SHAKTI
एकीकृत नेकपा माओवादीसँग विद्रोह गरेर नयाँशक्ति स्थापना गर्ने हल्ला चलाएको लामो समयपछि अर्थात आइतबार डाक्टर बाबुराम भट्टराईले त्यसको प्रारुप सार्वजनिक गरेका छन् । उनको नयाँ शक्तिमा आफ्नो क्षेत्रमा चिनिएका अनुहारहरुको उपस्थिति भने बाक्लै छ । वामपन्थी राजनीतिक पृष्ठभूमिबाट नेपाली राजनीतिमा स्थापित भएका भट्राईले भनेअनुसार नयाँशक्ति न कम्युनिष्ट हुने छ न त दक्षिणपन्थी नै । मुलुक समृद्धिको लागि गठन गरिएको भनिएको नयाँशक्तिमा सामेल भएका अनुहारहरुमा कलाकार, प्राध्यापक, उद्योगी र पूर्वकर्मचारीहरुको हाबी छ । र, नयाँशक्तिले कुनै वैचारिक धार पनि स्पष्ट पारेको छैन । आइतबार सार्वजनिक भएको ३५ सदस्यीय नयाँशक्तिको प्रारुपमा समेटिएका अधिकांश राजनीतिक धारका नहुनु र कुनै न कुनै कारणले विवादको सामना गरिहेकाहरु पर्नुले भनिएको नयाँशक्तिप्रति आमनागरिकले खासै ठूलो आशा गरेका छैनन्, उल्टै यहाँ समेटिकाहरुले चर्को आलोचनात्मक टिप्पणीको सामना गरिरहनु परेको छ । त्यसमध्ये एक हुन्, नयाँशक्तिको परिरषद्मा चुनिएका, राजनीतिक विश्लेषक मुमाराम खनाल ।
केही समयअघिसम्म डाक्टर भट्टराईको उछित्तो काड्न सकृय खनाल एकाएक नयाँशक्तिको परिषद्मा चुनिएको न्यूजले उनका समर्थक तथा फ्यानहरु आश्चर्यमा परेका छन् । भट्टराईले माओवादी परित्याग घोषणा गरेपछि विभिन्न संचारमाध्यमहरुमा खनालले दिएको उत्तेजक प्रतिकृया अहिले सामाजिक सञ्जालहरुमा भाइरल नै बनेको छ । उनले दैनिक पत्रिकाहरुमा लेखेको टिप्पणी मात्रै नभई सामाजिक संजाल फेसबुक र टुईटरमा उनले दिएको प्रतिकृया अस्वभाविक खरो थियो । त्यतिबेला खनालले गरेको एउटा टुइट यस्तो थियो –‘निर्वाचनमा नजानेलाई ‘बाबुराम बाबुराम’ भन्न सकिन्छ । तर नयाँशक्तिमा हाम फाल्न सकिँदैन ।’
यो त एउटा प्रतिनिधि टुईट मात्रै हो, यस्ता थुप्रै टुइटहरु छन्, जहाँ खनालले भट्टाईको उछित्तो काडेका छन् । जब खनाल नयाँशक्तिको परिषद्मा नियुक्त भए, तब समर्थकहरुले उनको खेदो खने । टुइटर यूजर विष्णु सुवेदीले खनालप्रति लक्षित गर्दै गरेको टुईटमा भनिएको छ– नयाँशक्ति बाबुरामको शक्ति मात्रै होइन रहेछ, बाबुरामको विरोध र आलोचनामात्रै होइन, उनलाई सत्तोसराप गर्नेहरु पनि यसमा अटाए त !
मुमारामको मात्रै होइन, नयाँशक्तिको परिषदमा मनोनित भएकाहरु, नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल, अर्थविद् रामेश्वर खनाल र उद्योगी विनोद चौधरीको चर्चासँगै आलोचनात्मक टिप्पणी भएको छ । रामेशवर खनाललाई धेरैले अवसरवादीका रुपमा चित्रण गर्ने प्रयास गरेका छन् । कहिले कांग्रेस निकट त कहिले एमाले निकट हुँदै सरकारी लाभको पदभार सम्हालेका खनाल बाबुराम नयाँशक्तिमा पर्नुलाई पनि धेरैले चासोपूर्वक हेरेका छन् । एमाले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा अर्थसचिव भएका खनाल बाबुराम भटटराई अर्थमन्त्रीहुँदा आर्थिक सल्लाहकार भएका थिए भने कांग्रेसका शुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रपति चुरे संरक्षण अभियानका अध्यक्ष भए । र, उनले सोमबार एक कार्यक्रममा भनेका छन्, नयाँशक्ति अबको केही वर्षमै सरकारमा पुग्ने छ । उनको भनाई हेर्दा ठम्याउन गाह«ो पर्दैन– सरकारमा पुग्ने लालसाकै कारण खनाल नयाँशक्तिप्रति आकर्षित भएका हुन् ।
त्यस्तै नेपाली चलचित्र उद्योगबाट पलायन भएर अमेरिका गएका र अहिले नेपाल फर्किएका नेपाली चलचित्रका पूर्व नायक सरोज खनाल, नायिका करिश्मा मानन्धर पनि नयाँशक्तिमा समेटिएका छन् । उनीहरु रंगकर्मबाट राजनीतिको भुवँरीमा फस्नुलाई पनि चासोका साथ हेरिएको छ । त्यस्तै, उद्योगपति विनोद चौधरीको नयाँशक्तिप्रतिको आकर्षणलाई पनि रुचीपूर्वक हेरिएको छ । बल्खु छोडेर बाबुराम रोज्नुको पछि चौधरीको चाहना के हो त्यो प्रष्ट हुने नै छ । यसरी भनिएको नयाँशक्तिप्रति धेरैले कडाटिप्पणी गरे पनि कतिपयले सकारात्मक रुपमा लिएका छन् । नयाँशक्ति गफमा होइन, व्यवहारमा नै नयाँ होस् र भनेजस्तै मुलुक समृद्ध बनाउँन एउटा भरपर्दो सारथि होस् कामना गर्नेहरु पनि धेरै छन् ।

LIVE TV