
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यशिक्षाका सम्बन्धमा पटकपटक अनशन बस्नुपर्ने स्थितिको अन्त्य खोजिरहेको बताउनुभएको छ । उहाँले आठौं पटक अनशनमा बस्न लागेका प्राध्यापक गोविन्द केसीलाई अनसनमा नबस्न आग्रह पनि गर्नुभयो ।
आफ्नो १ सय दिनको कामको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले पटकपटक अनशन बस्नुपर्ने स्थितिको अन्त्य गर्न आफूहरु लागिपरेको बताउनुभएको हो । चिकित्सा शिक्षामा देखिएका समस्याहरु समाधान गर्न र गुणस्तरीय चिकित्सा शिक्षा लागू गर्न माग गर्दै पटकपटक अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई तत्काल अनशनमा नबस्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभयो । केसीकै मागअनुसार चिकित्सा शिक्षा आयोग गठन गरिएको भन्दै अब क्रमश केसीका माग सम्बोधन हुने मन्त्री पोखरेलले दाबी गर्नुभयो । अहिले संसद्मा छलफलमा रहेको मनमोहन अस्पतालको सम्बन्धमा डा. गोविन्द केसीले विधेयक रोक्न माग गरेपनि तत्काल त्यो रोक्न भने नसकिने मन्त्री पोखरेलले बताउनुभयो । आयोग अधिकारसम्मपन्न भएको भन्दै चिकित्साशिक्षाका समस्या बिस्तारै समाधान भएर जाने उहाँले बताउनुभयो । अहिले नेताका नाममा प्रतिष्ठान व्यापारिक प्रतिष्ठान खुल्न थालेको भन्दै पुराना प्रतिष्ठानहरुका विषयमा पनि पुनर्विचार गर्नेबेला भएको उहाँले बताउनुभयो । विश्वविद्यालयमा उपकुलपति लगायतका नियुक्ति राजनीतिक भागबण्डामा हुनु नहुने भन्दै संघीयताका ढाँचाअनुसार अब शिक्षालाई कसरी अगाडि बढाउने भनेर ऐन, नियम बनाउन शिक्षा सुधार आयोग बनाउने पनि मन्त्री पोखरेलले बताउनुभयो । भूकम्पपछि अतिप्रभावित १४ जिल्लाका बालबालिकाहरु अहिले पनि भत्किएको विद्यालयमा पढ्नुपरेको भन्दै विदालय भवन निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाई थियो ।