११ माघ २०७२, सोमबार

बेनी (म्याग्दी) । पहाडी जिल्ला म्याग्दीबाट २०७२ साल वैशाखदेखि पुससम्मको नौ महिनाको अवधिमा हराएका २६ जना महिलाको खोजी कार्यका लागि म्याग्दी प्रहरी जुटेको छ । गत शनिबार राससबाट ‘म्याग्दीबाट नौ महिनाको अवधिमा २६ जना महिला सम्पर्कविहीन’ शीर्षकको समाचार प्रकाशित भएपछि म्याग्दीमा प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको हो ।

nepal police

केही दिनअघि म्याग्दीको चिमखोलाकी २४ वर्षीया छविना तिलिजासहित चारजना युवतीलाई दलालले भारत लैजाँदै गर्दा कञ्चनपुरबाट उद्धार गरिएको थियो । भारतका विभिन्न होटल तथा त्यहाँबाट खाडी र रोजगारका लागि विभिन्न देशमा आकर्षक तलब सुविधाको प्रलोभनमा ग्रामीण क्षेत्रबाट युवती धमाधम जान थालेपछि म्याग्दी जिल्लासमेत मानव तस्करको रोजाईमा परेको प्रहरीले बताएको छ ।

खुल्ला सीमा क्षेत्रबाट तेस्रो मुलुक जाँदा सहज र सस्तो हुने भन्दै युवती र महिलालाई दलालले प्रलोभनमा पार्ने गरेको प्रहरीको अनुमान छ । “रोकाको केसलाई अनुसन्धान गरिरहेका छौँ । महिलाहरू हराएको सूचना धेरै भएकाले पनि तस्करको फन्दामा परेको हुनसक्छ” – प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले भन्नुभयो–“हराएका महिलाको खोजी कार्यका लागि प्रहरीले अभियान चलाएको छ ।”

प्रनाउ खड्काले वैदेशिक रोजगारप्रति आकर्षित जिल्लाका रुपमा म्याग्दीलाई चिनिने र बर्सेनि हजारौँ युवा विदेशिइरहेकाले पनि दलालहरूले गलत माध्यमको प्रयोग गरी देशबाहिर लैजान सक्ने सम्भावना भएको बताउनुभयो । रासस

 

 

LIVE TV