१० माघ २०७२, आईतवार

नेपालगन्जको भेरी अञ्चल अस्पतालमा डाक्टरको लापरवाहीका कारण सुत्केरीको मृत्यू भएको छ । गर्भवती अवस्थामा सुरक्षित सुत्केरी गराउनका लागि रुकुमको चौरजहारी नगरपालिका नाखीराबाट ल्याईएकी २९ वर्षीया रामकुमारी नाथ गिरीको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको हो । मृतकका श्रीमान धर्मराज नाथ गिरीका अनुसार गत माघ ५ गते रुकुमबाट भेरी अञ्चल अस्पतालमा ल्याईएकी रामकुमारीको ७ गते विहान १० बजे शल्यक्रिया गरी सुत्केरी गराईएको थियो । शल्यक्रियाबाट छोरी जन्माएकी रामकुमारीलाई त्यसको २४ घण्टा पश्चात शल्यक्रिया गरिएको स्थानमा टाँका टुटेको भन्दै उपचारमा संलग्न डा.कल्पना थापाले पुनः अप्रेसन थिएटरमा लगि अत्याधिक रक्तश्राव भएको भन्दै पाठेघर निकालेर फाल्नुपर्ने बताएको मृतकका आफन्तले बताएका छन् । २४ घण्टामा दुइ पटक अप्रेसन गरे पश्चात पुनः अप्रेसन गरी पाठेघर फाली आईसीयूमा राखेको एक घण्टामै भारतको लखनउ रेफर गरेको मृतकका श्रीमान धर्मराज नाथले बताउनुभयो ।
BHERI HOSPITAL
बेहोस अवस्थामा भारतको लखनउ रेफर गरिएकी राम कुमारीलाइ मृगौला खराब भएर पिसाव बन्न नसकेको भन्दै भारत पठाईएको थियो । तर साहारा हस्पिटलका चिकित्सकले भने विरामीको छोटो समयमै रक्तस्रावको कारण नबुझी शल्यक्रिया गरिएकाले मृत्यू भएको विरामीका आफन्तले बताएका छन् । मृतकका आफन्तहरुले आफ्नो विरामी के कारणले मृत्यू भएको भन्ने विषयमा जान्न खोज्दा भेरी अञ्चल अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन डा.श्याम सुन्दर यादवले दुव्र्यवहार गरेको मृतकका आफन्त डिल्ली सिंहले बताउनुभयो । यता अस्पताल प्रशासनले भने आफूहरुको लापरबाहीका कारण मृत्यू नभएको जिकिर गरेको छ । भेरी अञ्चल अस्पताल नेपालगन्जका अस्पताल सुपरिटेण्डेन डा. यादवले शल्यक्रिया पश्चात पाठेघर खुम्चनुपर्ने र रगत जम्नुपर्ने भए पनि मृतक राम कुमारीको भने रगत बग्न नरोकिएका कारण समस्या भएको बताउनुभयो । यस अघि गत फागुन महिनामा पनि बर्दिया बाँसगढी, बर्दियाकी ३२ बर्षीया सुशीला सिग्देलको शल्यक्रिया गरेको २४ घण्टा नबित्दै मृत्यु भएको थियो ।

LIVE TV