
तराईमा विगत केही दिन देखि बाक्लो कुहिरो लाग्न थालेपछि विराटनगरबाट राजधानी काठमाण्डौका लागि आइतवारको सबै उडान रद्द भएका छन । बाक्लो कुहिरोका कारण शनिवार पनि सबै उडान रद्द भएको थियो ।
मौसममा आएको खरावीका कारण उडान रद्द भएपछि करिब ४ सय हवाई यात्रुहरु विमानस्थल पुगेर फर्किएका छन् । विराटनगरबाट राजधानी काठमाण्डौका लागि बुद्ध एयरको ४, यति एयरको ४, सौर्य एयरलाइन्सको एक र नेपाल एयरलाइन्सको एक गरी १० वटा उडान रद्द भएको नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरले जनाएको छ । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी चाहिनेमा बाक्लो कुहिरोका कारण ५ सय मिटर मात्र भिजिबिलिटी रहेको सो कार्यालयले जनाएको छ । यस वर्ष मंसिर महिनामा मौसममा आएको खराबीका कारण एक दिन उडान रद्द भएको थियो ।