
कर्णालीको त्यो मोती अर्थात रारा ताल । देश विदेशका पर्यटकहरुको ताँत लाग्ने रारामा हिउँ फुस्फुसाएपछि झनै लोभलाग्दो र मनमोहक बनेको छ । पुग्नै पर्ने गन्तव्यकोरुपमा ख्याति कमाएको रारामा रम्ने रहर कस्को नहोला , अझ हिउँमा लुटपुटिएको रारामा रमाउनेहरुको अहिले ठूलो भिड नै लागेको छ ।
लामो खडेरी पछिको हिमपातसंगै नेपालको पर्यटकीय गन्तब्य रारामा हिउँमा रमाउने आन्तरिक पर्यटकको संख्यामा बृद्घि भएको छ । राराताल यतिखेर हिउँले सेताम्य भएको छ । यस क्षेत्रमा तिन फिट सम्म हिउँ जमेको र अहिले राराको तापक्रम माईनस ३ देखि ४ डिग्रीसम्म रहेको रारा तापक्रम मापनका केन्द्रका नन्दकृष्ण रोकायाले जानकारी दिनुभयो । रारा ताल चारैतिर हिउँले छोपिदा कपास जस्तै सेताम्ये देखिएको छ । निलो निलो तालको पानीमा हिउँको सेतो छायाँले रारामा घुम्न आउनेहरुको मन लोभ्याएको छ । त्यसमाथि पनि डुंगा चढेर रमाउनेहरुका लागि आनन्दको वर्णन नै गरिसाध्य छैन् । बिहानीपख सूर्यको प्रकाशले चुम्दा रारा चाँदी झै चमकदार देखिन्छ । गत साताको बिहीबार देखि रारामा हिउँमा रमाउनेको संख्या दिन प्रति दिन बढेको रारा राष्ट्रिय निकुन्ज कार्यालयका निमित्त कार्यालय प्रमुख लक्ष्मीनारायण शाह बताउनु हुन्छ । शाहका अनुसार मनोरम दृश्य अवलोकन गर्न मानिसहरु मात्र नभई पश्चिम मानसरोवर र साइबेरिया, भारतको नैनिताल लगायतको ठाउँबाट क¥याङकुरुङ्क ,जलेवा ,सेतो हाँस रारामा भरीभराउ रहेका छन । आकास खुले पछि कठ्यांग्रीदो जाडोसंगै सेताम्ये रारा तालको तस्बिर खिच्न ,हिउँमा रमाउन मुगुका सरकारी कार्यालय , संघ सस्थाका कर्मचारीहरु, बिद्यार्थीहरु, यूवाहरुको ठूलो हुल रारामा रमाइरहेको नेपाल टेलिकम कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद कोईराला बताउनु हुन्छ ।
समय अनुकुल राराले आफ्नो रुपरंग बिहान, मध्यान्ह,साँझपख फेरिरहन्छ । फागुन चैतमा रारा घुम्न आउने पर्यटकहरुले राराको किनारमा बसेर हिउँमा चिनी मिसाएर खादै गज्जबको स्वाद समेत लिने गरेका छन् । चैत बैशाख महिनामा लालिगुराँस ढकमक्कै फुल्दा रारालाई दुलही सजाए झै देखिन्छ । समुद्री सतह देखि २९ सय ९० मिटरको उचाईको रारा हिँउदमा हिँउले छोपेर सेताम्ये हुन्छ भने असार साउनमा सप्तरंगी फूलहरुले सजिएको हुन्छ । गर्मी मौसममा तालमा असला जातका माछाले आहारा खोज्दै किनारमा रमाउँदाको दृश्य झनै लोभलाग्दो देखिन्छ । कस्तुरी,कालीज ,लाटोकोसेरो ,ढुकुर ,हाँसलगायत ३ सय प्रजातिका चराहरु ,कस्तुरी,मृग ,रेडपाण्डा ,घोरल ,रतुवा लगायतका बन्यजन्तुले यस्को सुन्दरतमा झनै सुगन्ध थपेका छन् भने पाँचऔले ,गुच्ची च्याउ ,सतुवा ,जटामसी लगायत १८ किसिमका जडीबुटी राराका अनुपम उपहारहरु हुन् । धर्तीको स्वर्ग मानिएको रारामा सबै थोक छ , जुन प्रकृतिका अनुपम उपहारहरु हुन् । तर विद्युत , इन्टरनेट , होटल र लजहरुको व्यवस्था गर्न सके राराको रौनक अझै चुलिने पक्का छ ।