१० माघ २०७२, आईतवार

HUMAN RIGHTS

राष्ट्रिय मानवअधिकार आयोगले सरकारमाथि मधेस आन्दोलन सम्बोधन गर्न गम्भिर र संवेदनशील नभएको आरोप लगाएको छ । मधेसवादी दलका माग सम्बोधनका लागि भन्दै संविधान संशोधन गरेको भोलिपल्ट आयोगले राज्य संवेदनशील नदेखिएको बताएको हो । रंगेली घटनाबारे छानविन गर्न माग गर्दै मधेसी मोर्चाले बुझाएको ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष अनुपराज शर्माले मधेस आन्दोलन सम्वोधन गर्न राज्य संवेदनशील नदेखिएको बताउनुभएको हो । आन्दोलनका क्रममा छातिमा, ढाडमा कि टाउकोमा गोली लागेको भेटिएको भन्दै उहाँले गोली हान्नु अन्तिम अस्त्र हुनु पर्ने बताउनुभयो । अध्यक्ष शर्माले आन्दोलन हिंसात्मक भयो त्यो बेला पनि घुँडामुनी मात्रै गोली हान्नु पर्ने बताउनुभयो । उहाँले न्यूनमत मानवअधिकार बाहालीतर्फ राज्य र आन्दोलनकारी दुबै सजग हुनुपर्ने बताउनुभयो । आयोगका अध्यक्ष शर्माले रंगेली घटनाको आयोगले निष्पक्ष छानविन गर्नेमा ढुक्क हुन मोर्चाका नेताहरुसँग आग्रह गर्नुभयो । मोर्चाका नेताहरुले रंगेली घटनाबाट सरकार आफैं साम्प्रदायिक दंगा भड्काउन चाहन्छ भन्ने देखिएको बताए । तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले प्रहरीको संरक्षणमा सत्तारुढ दलको भातृ संगठनका कार्यकर्ताले नै साम्प्रदायिक दंगा भड्काउन खोजेको बताउनुभयो । माघ ७ गते मोरङको रंगेलीमा प्रमुख सत्तारुढ नेकपा एमालेको युवा संघले गरेको सभा विथाल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ भने थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV