
उन्नाईस वर्षमुनिको विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल पाकिस्तानसँग १ सय १० रनले पराजित भएको छ । बंगलादेशको साभारमा जितका लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४२ तथा आरिफ शेखले ३५ रन बनाए । यस्तै राजु रिजालले २८, इशान पाण्डेले २० रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानको १९ वर्षमुनिको टोलीले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । पाकिस्तानका जेसन मल्लिकले ८३ तथा उमिर मसउदले ५९ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ तथा प्रेम तामाङ र सुशील कँडेलले दुईदुई विकेट लिए । बंगलादेशमा माघ १३ गतेदेखि सुरु हुने विश्वकप अघि नेपालले आउँदो सोमबार श्रीलंकाको १९ बर्षमुनिको टीमसँग अभ्यास खेल्नेछ ।
१६ देशको सहभागिता रहने प्रतियोगितमा नेपाल भारत, आइरल्याण्ड र न्युजिल्याण्डसँगै समूह डी मा छ । नेपालले पहिलो खेलमा माघ १४ गते न्युजिल्याण्ड, माघ १६ गते आइरल्याण्ड तथा समूहको अन्तिम खेलमा माघ १८ गते भारतसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली अन्तिम ८ मा पुग्ने छन् ।