
अमेरिकामा शक्तिशाली हिम आँधीका कारण ८ जनाको ज्यान गएको छ । अमेरिकाको उत्तरपूर्वी तटबाट शक्तिशाली हिम आँधी प्रवेश गरेको हो । यो आँधी अमेरिकामा आएको एक सय वर्ष यताकै सबैभन्दा शक्तिशाली रहेको मौसमविद्हरुले बताएका छन् । हिम आँधीका कारण पाँच करोड मानिस प्रभावित हुने आशंका गरिएको छ । ६ राज्यमा आपतकालिन अवस्था घोषणा गरिएको छ । ६ हजार भन्दा धेरै उढान रद्द भएका छन् । विद्यालय, सरकारी कार्यालय तथा यातायात व्यवस्था पनि बन्द गरिएको छ । वाशिंटनको सडकमा झण्डै ६ इन्च हिउँ जमेको छ । नर्थ क्यारोलिनामा हिम आँधीका कारण झण्डै एक हजार कार एक आपसमा ठोक्किएका छन् । मानिसहरु घर भित्रै बसेका छन् । राजधानी वाशिंटनमा आइतबारसम्ममा ७६ सेन्टिमिटर हिउँ जम्न सक्ने मौसमविदले चेतावनी दिएका छन् । आँधीका कारण टेनिसी, नर्थ क्यारोलिना, भर्जि्निया, मेरील्याण्ड, पेन्सिलभनिया, डिस्ट्रिक अफ कोलबिया र अरु राज्यका केही क्षेत्र बढी प्रभावित हुने जनाइएको छ । यसअघि सन् १९२२ मा आएको दुई दिने हिम आँधीका कारण अमेरिकमा २८ इन्चसम्म हिउँ जमेको थियो ।