९ माघ २०७२, शनिबार

बेनी (म्याग्दी), माघ ९ गते । पहाडी जिल्ला म्याग्दीबाट २०७२ साल वैशाखदेखि पुस महिनासम्मको नौ महिनाको अवधिमा २६ जना महिला हराएका छन् । प्रहरी कार्यालय म्याग्दीमा सम्पर्कविहीन भएका महिलाका आफन्तले खोजी गरिदिन अनुरोध गर्दै दिएको लिखित निवेदनका आधारमा २६ महिला सम्पर्कविहीन भएको जानकारीमा आएको हो ।

telephone

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार हराउनेमा अविवाहित युवती र बालबच्चा भएका महिलासमेत रहेका छन् । सुरुका तीन महिना वैशाख, जेठ र असार महिनामा मात्रै १० जना महिला घर परिवारदेखि सम्पर्कविहीन भएका र अहिलेसम्म पनि फेला नपरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धर्म मुडभरीले जानकारी दिनुभयो ।

“परिवारदेखि सम्पर्कविहीन भएको केही दिनपछि परिवारका सदस्यले आफन्त हराएका सूचनासहित खोजी कार्य गरिदिन अनुरोध गर्दै निवेदन लिएर आउने गरेका छन्,” प्रहरी निरीक्षक धर्म मुडभरीले भन्नुभयो – “हामीले यसलाई गम्भीरतापूर्वक हेरेका छौँ ।”

प्रहरीका अनुसार बहुविवाह, वैदेशिक रोजगारमा गएका श्रीमान्सँगको असन्तुष्टि, आर्थिक समस्यालगायतका कारण परिवारबाट सम्पर्कविहीन भएको देखिएको छ । पछिल्ला दिन पारिवारिक सम्बन्धका बारेमा दैनिकजसो निवेदन आउन थालेका र बहुविवाह गर्नेको सङ्ख्या बढी रहेका एक प्रहरीले जानकारी दिएका छन् । निवेदनबाहेक मौखिम उजुरीसमेत करिब दुई दर्जनभन्दा धेरै परेको बताइन्छ ।

बहुविवाह मुद्दामा जेल पर्ने, सामाजिक बहिष्कारमा पर्ने जस्ता समस्या आई पर्नसक्ने डरले गुपचुप भाग्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । रासस

 

LIVE TV