
हिजो मोरङको रंगेलीमा तीन जनाको मृत्यु भएपछि आज बिहानैदेखि तराईमधेस अशान्त रहेको छ । नेकपा एमाले निकट युवा संघ नेपालले रंगेलीमा आयोजना गरेको कार्यक्रममा अवरोध पु¥याउन खोज्दा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपपछि मोरङमा तीन जनाको मृत्यु भएको थियो ।
मृत्युपछि समग्र तराईमधेस असान्त भएको छ । मोरङको रंगेली भने अपेक्षाकृत रुपमा शान्त रहेको छ । रंगेलीमा अहिले प्रहरी परिचालन गरिएको छ । बीरगञ्जमा प्रदर्शनकारीले मोटरसाइकलमा आगजनी गरेका छन् भने जनकपुरमा पनि प्रहरी दमनको विरोध गर्दै बिहानैदेखि प्रदर्शन जारी छ ।
उता, बारामा आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्याकर्ताहरुले बारामा दुईवटा मोटरसाइलकमा आगजनी गरेका छन् ।मोर्चाका कार्यकर्ताले आज बिहान बाराको भरतचोकमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका हुन् । मोर्चाका कार्यकर्ताले ना १० प २८२५ र लु १ प ९५५० नम्बरका दुईवटा मोटरसाइकल आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएका छन् । भारतबाट मोटरसाइकलमा पेट्रोल लिएर आउँदै गरेका मोटरसाइकल चालकलाई मोर्चाका कार्यकर्ताले कुटपिटसमेत गरेका थिए ।