
काठमाडौं – विश्व बजारमा इन्धन मूल्य १२ वर्षकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । सोमबार सबैभन्दा न्यून मूल्य (प्रतिब्यारेल २७ दशमलव ६७ डलर) पुगेको हो । यो मूल्य सन् २०१३ मा भएको प्रतिब्यारेल २८ डलरभन्दा पनि न्यून हो ।
इन्धन मूल्य घट्नु प्रयोगकर्ता देशका लागि सुखद पक्ष देखिएको छ । तर, तेल उत्पादक देशको आर्थिक अवस्था भने नाजुक अवस्थामा पुग्ने विज्ञहरुको विश्लेषण छ । विश्लेषकहरुले इन्धनको मूल्य अझै झरेर १० डलरसम्म झर्ने प्रक्षेपण गरेका छन् । मोर्गन स्ट्यान्लीले चीनले आफ्नो मुद्रा घटाएमा तेल मूल्य २० डलरसम्म झर्न सक्ने जनाएको हो ।
विश्व बजारमै सबै वस्तुको मूल्य बढिरहेका बेला तेलको मूल्य यसरी अप्रत्यासित घट्नुको कारण के होला ? धेरैले धेरै थरीको विश्लेषण गरेका छन् । कसैले अमेरिकाले रुसलाई फेरि डुबाउने खेलअन्तर्गत यसो भएको दाबी गरेका छन् । बिबिसीले भने चीन र युरोपमा देखिएको आर्थिक मन्दीका कारण तेल मूल्य यसरी न्यून विन्दुमा पुगेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।