
दाङ जिल्लामा पहिलो पटक गोबे्र च्याउको उत्पादन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय दाङको व्यवस्थापन तथा पहलमा जिल्लाका ८ स्थानमा गोब्रे च्याउको उत्पादन गरिएको हो ।
पहिलो पटक भएकाले हाल पाइलट उत्पादनको रुपमा जिल्लाका ८ स्थानमा गोब्रे च्याउ उत्पादन गर्न थालिएको हो कार्यालयका वालि संरक्षण अधिकृत पिताम्बर बस्नेतले यसको परिक्षणको लागि कार्यालयमा समेत उत्पादन थालिएको बताउँनुभयो । सफल परीक्षण पश्चात तेसा्रे चरणसम्म यसको उत्पादन लिइ सकिएको बताउँदै उहाले कार्यालयले वीउ र प्रविधिको सहुलियत गरेर तुलसीपुर क्षेत्रमा २ स्थानमा, नारायणपुर क्षेत्रमा ३ स्थानमा,रामपुर क्षेत्रमा २ स्थानमा र कार्यालयमा गरेर आठ स्थानमा गोब्रे च्याउको उत्पादन सुरु गरिरहेको जानकारी दिनुभयो ।
जिल्लामा अन्य प्रजातिका च्याउहरुको व्यवसायिक उत्पादन बढे पनि गोब्रेको भने पहिलो पटक पाइलट उत्पादन शुरु गरिएको अधिकृत वस्नेतले बताउँनुभयो । हाल ७ स्थानमा किसानहरुले यसको व्यवसायिक उत्पादन सुरु गरिसकेका छन् । कार्यालयले ती क्षेत्रहरुमा किसानहरुलाई ८० हजार रुपैया अनुदान समेत प्रदान गर्दै आएको छ । अन्य प्रजातिका च्याउ भन्दा उपयोगी हुने भएकोले गोब्रे च्याउको व्यवसायिक उत्पादन गर्न सके कृषकहरुलाई दोब्बर फाइदा हुने कृषि कार्यालयले जनाएको छ ।
बजारमा पनि गोब्रे च्याउको माग अत्यधिक रहेको छ । अहिले गोब्रे च्याउको बजार मूल्य ५ सय रुपैया केजी सम्म रहेको छ । यसको उत्पादन गर्न प्रविधि अलि लामो र झन्झटिलो भए पनि उत्पादन गर्न सके राम्रो फाइदा हुने स्वयम् कृषकहरु बताउँछन् । जिल्ला कृषि कार्यालय दाङका अनुसार दाङमा अहिले वार्षिक रुपमा ४६ मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको छ ।