७ माघ २०७२, बिहीबार

जिल्ला प्रहरी कार्यालय रौतहटले संगठित रुपमा नेपाली नक्कली नोटको छपाई तथा त्यसको कारोवार गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले छापेका एक हजार र पाँच सय दरका नोट र नोट छाप्ने मेसिन समेत प्रहरीले बरामद गरेको छ ।

Face-money- Face-money-Gang 1
जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संगिठत रुपमा .एक हजार तथा पांच सय दरका ४९ हजार पांच सय नेपाली नक्कली नोट सहित स्थानीय सखुअवाका नारायण चौधरी, गौर नगरपालिकाका जुगलकिशोर कुशवाह, गौर नगरपालिकाका रामप्रवेश यादब, गौर नपाका मनोज महतो,चन्द्रपुर नगरपालिकाका ओसिम महम्मद,भारत चम्पारण जिल्ला घोडासाहन वस्ने अभयकुमार साहलाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बिहीबार विहान माटो मुनि गाडेको अवस्थामा नोट छाप्न प्रयोग गर्ने गरिएको मेसिन समेत बरामद भएको बताउनुभयो । उहांले अभियुक्तहरुको साथबाट हजारको ४४ थान र पांच सयको ११ थान नक्कली नोट बरामद गरेको जानकारी पनि दिनुभयो ।

प्रहरीले संगठित रुपमा नक्कली नोट छाप्ने र त्यसको कारोवार गर्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गर्न सफलता मिलेको दावी गरेको छ । नक्कली नोट प्रकरणमा प्रहरीले ती अभियुक्तहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । प्रहरीले मधेस आन्दोलनको क्रममा सदरमुकाम गौर लगायत अन्य स्थानमा नक्कली नोटको कारोवार निक्कै फस्टाएको भन्दै उक्त प्रकरणमा थप अनुसन्धान गर्नु पर्ने भएकोले अझै केही अभियुक्तको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुबाट दुई थान मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरु माथि खोटा चलन ऐन अनूरुप कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV