
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य न्यून हुँदै गइरहेको अवस्थामा नेपालमा भने दैनिक उपभोग्य बस्तुहरुको अकासिदो मूल्य बृद्धि प्रति बिज्ञहरुले चिन्ता व्यक्त गरेका छन । नेपालमा पछिल्लो अवस्थामा नाकाबन्दी, मधेश आन्दोलन र कालोबजारीका कारण दैनिक उपभोग्य बस्तुहरुको मूल्य अकासिएको छ । छिमेकी मुलुक भारत र चीनको भन्दा नेपालको बढेको महंगी चिन्ताको बिषय बनेको छ ।
छिमेकी मुलुक भारतमा करीव ५ र चीनमा २ प्रतिशतको हाराहारीमा मूल्य बृद्धि हुदाँ नेपालमा भने ११ दशमलव ६ प्रतिशतले मूल्य बृद्धि हुँदा सर्वसाधारणको जीवनस्तर कष्टकर बनेको छ । नाकाबन्दी, मधेश आन्दोलनको कारण आपूर्ति असहज हुँदा दैनिक उपभोग्य बस्तुको मुल्य अकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर बिश्वका अन्य देशहरुको अर्थतन्त्रले फाइदा लिइरहेको अवस्थामा नेपालमा भने उल्टो मुल्य बृद्धि भएर जनताको जीवन कष्टकर हुनु बिडम्वना नै हो । संसारभर मूल्य बद्धि घट्दो अवस्थामा भएको वेला नेपालमा भने बढ्नु दुःर्भाग्य नै हो । नेपाल राष्ट्र बैकका पूर्व बरिष्ठ अनुसन्धान अधिकृत टुलराज बस्यालले बताउनु भयो ।
चालु आर्थिक बर्षको बजेटमा सरकारले मुल्य बृद्धि साँढे ८ प्रतिशतको हाराहारीमा सीमित रहने अनुमान गरेको थियो तर ५ महिनाको अवधिमा मूल्य बृद्धि ११ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । बजारमा मौलाएको कालोबजारी र कमजोर सरकारी अनुगमनले कारणले गर्दा पनि महंगी बढेको हो । नाकाबन्दी र मधेश आन्दोलनको कारण देखाएर खाद्य समूहको मूल्य बृद्धि सवै भन्दा बढी बढेको छ । दैनिक उपभोग्य बस्तु,दाल,चामल,खाने तेल, मसला, तरकारीजन्य बस्तु लगायतका सामग्रीहरुको मूल्य सवै भन्दा बढी बढेको छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्य बृद्धि हुनुमा कालोबजारी, असहज आपूर्ति, कृत्तिम अभाव जिम्मेवार रहेको अथशास्त्री बस्यालले बताउनु भयो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले भर्खरै सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुल्य बृद्धि सार्क मुलुकहरु मध्ये अफगानिस्तानमा २ दशमलव ८,बगलादेशमा ६ दशमलव ६, भूटान ६ दशमलव १, माल्द्धिप्स २ दशमलव ५, पाकिस्तान ४ दशमलव ७,श्रीलका ३ दमशलव ४, भारत ५ दशमलव ५ र चीनमा मुल्यबृद्धिको दर १ प्रतिशत ८ मात्र रहेको छ । जवकी नेपालको भने ११ दशमलव ६ प्रतिशत रहेको तत्याङक हालै प्रकाशित नेपाल राष्ट्र बैकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बजारमा अकासिएको मूल्य बृद्धि सरकारी निकायहरुलाई निकै चुनौती बनेको छ । बाणिज्य तथा आपूर्ति ब्यवस्थापन बिभागका निर्देशक हरिनारायण वेलवासेले मुल्य बृद्धि पछाडि असहज आपूर्ति, कालाबजारी र ब्यवसायीहरुको मिलेमतो र अनुगमनमा भएको कमजोरी जिम्मेवार भएको बताउनु हुन्छ । भारतको नाकाबन्दी, मधेश आन्दोलनको बहाना बनाएर कालोबजारी र कृत्तिम अभावको कारण चुलिएको मूल्य बृद्धिको भार नेपाली जनताले अव कहिले सम्म थेग्ने त?