
झण्डै तीन महिनापछि सुनको भाउ ५० हजार रुपैयाँ भन्दा माथि उक्लिएको छ । बुधबार तोलामा दुईसय ५० रुपैयाँले बढेपछि सुनको भाउ ५० हजार १ सय ५० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार तोलाको ४९ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार सुन तोलाको ५० हजार एकसय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि पछिल्लो पटक सुनको भाउ गत कात्तिक १८ गते ५० हजार रुपैयाँ थियो । त्यसयता सुन ५० हजार रुपैयाँ भन्दा कममा कारोबार हुँदै आएको थियो । सुनको भाउ तीन महिनायताकै महँगो भएपनि चाँदीको भाउ भने कमजोर छ । तीन महिना अगाडिको तुलनामा चाँदी तोलामा ४० रुपैयाँ सस्तो रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिकमा सुनको भाउ ५० हजार हुँदा चाँदीको भाउ तोलाको सातसय १५ रुपैयाँ थियो । बुधबार चाँदी तोलाको ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य केही दिनयता स्थिर छ ।