
कपिलवस्तु जिल्लाको सोमडिह गाविस वडा नम्बर ७ र ८ को ईटवामा पछिल्लो एक महिनाको अबधीमा दादुरा जस्तै देखिने संक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको छ । गाँउमा संक्रमणका कारण एक महिनामा पाँच बालबालिकाको अकालमा ज्यान गए पनि जिल्ला स्वास्थ्य कार्यालयको टोली भने सोमवार मात्र संक्रमण क्षेत्रमा पुगेको छ ।
त्यसो त सोमडिह उप स्वास्थ्य चौकी संक्रमणग्रस्त गाँउ भन्दा ५ सय मिटरको दुरीमा नै अवस्थित छ । यस्तै ११ किलोमिटर दुरीको जिल्लामा रहेको जिल्ला स्वास्थ्य कार्यालय एक महिना देखि संक्रमणबाट पाँच बालबालिकाको ज्यान जाँदा पनि बेखबर बन्दा जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेको लापरवाही छताछुल्ल भएको छ । संक्रमणका कारण ईटवाका बुधराम कोरीको ३ बर्षिय छोरा आकाश कोरी, सभाजित रैदासको डेढ बर्षिय छोरी जानकी रैदास, सर्वजित यादवकी ५ बर्षिय छोरी रिंकी यादव, जोगिन्दर चौधरीकी ३ बर्षीय छोरी सन्जु चौधरी र जगदिश यादवको १० महिनाको नाती अमित यादवको संक्रमणकै कारण मृत्यु भएको हो । शुरुमा बालबालिकाको शरीरमा फोका उठ्ने र त्यसपछि ज्वरो आउने र झाडा पखाला लगायतको संक्रमण भएर मृत्यु भएको पीडित परिवारका सदस्यहरु बताउछन् । अहिले गाँउका ६५ बढि बालबालिकामा सो संक्रमण देखिएको छ । उता गाँउमा बालबालिकाको मृत्यु भएसगै गाँउ नै शोकाकुल बनेको छ । जिल्लाको स्वास्थ्य सेवा प्रदायकको पहुँच नहुँदा स्थानीय भने देबी देउताको पूजापाठमा लागेका छन् । एक महिनाको अबधीमा पाँच बालबालिकाको मृत्यु भएपनि जिल्लाको कुनै पनि निकायले चासो नदिएको स्थानीयको आरोप छ । गाबिसमै रहेको स्वास्थ्य चौकीमा समेत कर्मचारी अनियमित हुने र औषधी पनि नहुने हुदाँ आफूहरुले पाउनुपर्ने स्वास्थ्य सेवा समेत प्रभावित भएको स्थानीयले बताए । संक्रमण देखिएको एक महिनापछि मात्र स्वास्थ्यकर्मी संक्रमण क्षेत्रमा आउनुले स्वास्थ्यको चरम लापरवाहीलाई प्रष्ट पारेको स्थानयीको आरोप छ । स्थानीयबाट स्वास्थ्य संस्थामा लापरवाही बढेको गुनासो आएपछि सोमडिह उपस्वास्थ्य चौकीमा मंगलवार विहान १०ः३० बजे जिल्लास्थित सञ्चारकर्मीहरु पुग्दा उपस्वास्थ्य चौकी बन्द थियो । सञ्चारकर्मी आएको थाहा पाएर बल्ल उपस्वास्थ्य चौकी प्रमुख अशोककुमार मिश्रा उपस्वास्थ्य चौकीमा पुगे । उनले आफुहरुले घटनाबारे सोमवार मात्र जानकारी पाएको बताउदै सोमबार नै ४७ बालबालिकाको लक्षणका आधारमा उपचार गरेको जनाए । सोही बिषयमा प्रतिक्रिया लिदा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका निमित्त प्रमुख बिष्णु जयसवालले पनि आफुहरुले संक्रमणबारे जानकारी पाए लगत्तै सोमबार स्वास्थ्यकर्मीहरुको टोली संक्रमण क्षेत्रमा पठाएको बताए । जनचेतनाको अभावमा खोप नलगाएका कारण संक्रमण देखिएको अनुमान गरिए पनि दादुरा नै भएको भन्ने अवस्था भने नरहेको उनले स्पष्ट पारे ।