
लामो खडेरीका कारण वर्षे बालीको उत्पादनमा ह्रास आएपछि जिल्ला कृषि विकास कार्यालय मुगुले खाद्य संकट ग्रस्त जिल्ला घोषणा गर्ने तयारी गरेको छ । माघको पहिलो हप्तासम्म पनि वर्षा र हिमपात नहुँदा कृषकले हिउँदे बाली समेत छर्न नसकेपछि सम्भावित खाद्य संकटलाई टार्न जिल्लालाई खाद्य संकट ग्रस्त जिल्ला घोषणा गर्ने तयारी गरिएको हो ।
भदौ महिनादेखि परेको खडेरीले कृषकले लगाएको धान, मकै, कोदो, फापर, सिमी, चिनो, कागनु लगायतको बर्षे बाली सखाप भएको कृषकहरुले गुनासो गरेका छन् । खडेरीकै कारण कृषकले हालसम्म पनि जौं, गहुँ, उवा तथा आलु लगायतका हिउँदे बाली लगाउन सकेका छैनन् । जसका कारण आगामी दिनमा जिल्लाभर चरम खाद्य संकट निम्तिने भन्दै जिल्ला खाद्य सुरक्षा सञ्जालले खाद्य संकट ग्रस्त जिल्ला घोषणाको तयारी गरिरहेको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख डाक्टर चन्द्रप्रकाश रिसालले जानकारी दिनुभयो । जिल्लाका ह्याँग्लु, भिई, नार्थपु, जिमा, रुगा, धैनकोट , कालै, कोटडाँडा, गम्था, श्रीकोट,श्रीनगर,डोल्फु लगायतका गाविसमा चरम खाद्य संकट सिर्जना भएको छ भने जिल्लाभरका २४ गाविसबाट परिवार पाल्नका लागि युवाहरु भारत पसे पछि अहिले मुगु गाउँ वस्तीहरु युवा विहीन हुन थालेका छन् । जिल्ला कृषि बिकास कार्यालयको तथ्याङ्क अनुसार बर्षे बालीबाट २२ करोड र अहिले हिउदे बालीको ८ करोड गरी जम्मा ३० करोड रुपैयाँ बराबर भन्दा बढी क्षती भएको कार्यालय प्रमुख रिसालले जानकारी दिनुभयो । जिल्लाभरिमा वार्षिक ११ हजार २ सय ५६ मेट्रिक टन खाद्यन्न चाहिने कार्यालयको भनाई छ । जिल्लाको कुल उत्पादन १२ हजार १५ मेट्रिक टन खाद्यन्न उत्पादन हुने भएपनि खान योग्य प्रशोधित खाद्यन्न ५ हजार ९४ मेट्रिक टन रहँदा जिल्लाका लागि ७ हजार १ सय ६२ मेट्रिक टन खाद्यन्न अपुग हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामसुरथ पालले जानकारी दिनुभयो । अपुग खाद्यन्न जिल्ला सदरमुकाम गमगढी बजार , नेपाल खाद्य संस्थानबाट आपूर्ती हुने भए पनि यो वेला देशको राजनीतिक संकटका कारण बजारमा समेत खाद्यन्न आपूर्तीमा समस्या आउन सक्ने अनुमान गरिएको छ । सात गाविसमा हिउँदेवाली २० प्रतिशत,सोरु भेगमा ५ प्रतिशत, करान भेगमा ५ प्रतिशत र गम भेगमा १० प्रतिशत जमिनमा मात्र लगाईएको जिल्ला कृषि विकास कार्यालयको तथ्याकंले देखाएको छ । जिल्लाभर गहुँ , जौं , उवा , आलु लगायतको हिउँदे वाली चार हजार मेट्रिक टन उत्पादन हुने भए पनि यो वर्ष वर्षा र हिमपात नहुँदा असी प्रतिशतले उत्पादन घटेर ८ सय दशमलब १५ मेट्रिक टन मात्र उत्पादन हुन सक्ने र खाद्य संकट पनि निकै बढ्ने कार्यालयको अनुमान रहेको छ । नाकाबन्दी र मधेश आन्दोलनका कारण बजारमा पर्याप्त खाद्यन्न मौजदात नरहेको र नेपाल खाद्य संस्थानको सदरमुकाम वितरण केन्द्रमा पाँच हजार दुई सय क्वीण्टल खाद्यन्न मात्र मौजदात रहेको छ । जिल्लाले चरम खाद्य संकटको सामना गर्नुपर्ने भन्दै जिल्ला खाद्य सुरक्षा सञ्जालको आकस्मिक बैठकले जिल्लालाई खाद्य संकट ग्रस्त जिल्ला घोषणाका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । ह्याँग्लु, भिई, नार्थपु, जिमा, रुगा,धैनकोट,कालै, कोटडाँडा, गम्था, श्रीकोट, श्रीनगर,डोल्फु गाँउ परिषद बाटै भोकमरी गाबिस घोषणा गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको छ ।