३ माघ २०७२, आईतवार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासंगको वार्ता निष्कर्ष नजिक पुगेको बताउँदै सोमबार दिउँसोसम्म सहमति हुने दावी गर्नु भएको छ । उहाँले सहमतिसंगै तराई मधेसमा व्याप्त अन्यौल हट्ने जिकिर समेत गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघ कैलालीले आइतबार गेटा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधान संशोधनमार्फत समानुपातिक सहभागिताको अधिकार सुनिश्चित गर्ने र सीमांकनको विषय राजनीतिक समितिले तीन महिनाभित्र टुंग्याउने गरि सहमति बन्न लागेको जानकारी दिनुभयो । राजनीतिक सहमतिका आधारमा संघीय प्रदेशको सीमा हेरफेर गर्न सकिने उहाँको धारणा थियो ।
Prachanda_788628049_475915404
अध्यक्ष दाहालले संविधान संशोधन प्रस्ताव पारित गर्ने दलहरुबीच सहमति हुने वित्तिकै भारतीय नाकाबन्दी पनि हट्ने दावी गर्नुभयो । उहाँले संविधानको कार्यान्वयन, भुकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माणका लागि राष्ट्रिय सरकार आवश्यक रहेको आफ्नो पार्टीको विगतदेखिकै धारणा रहेको स्पष्ट पार्नुभयो । धनगढीमा शुरु भएको माओवादीको प्रदेश नं. ७ स्तरीय प्रशिक्षणमा सहभागी हुनका लागि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता लोकेन्द्र बिष्ट, लेखराज भट्टलगायत माओवादी नेताहरु धनगढी आइपुग्नु भएको हो । प्रशिक्षणमा यस क्षेत्रमा रहेका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायत अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV