
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या समाधान गर्ने आश्वासन दिनुभएको बताउँनुभएको छ । प्रधानमन्त्रीकै विशेष अनुरोधमा आफू तराईमा नगई सीधै काठमाण्डौ आएको उहाँको भनाइ थियो । भारतको नयाँदिल्लीमा उपचार पश्चात केही उच्चस्तरीय राजनीतिक भेटघाट गरी अध्यक्ष महतो आइतवार काठमाण्डौ फर्किनुभएको हो । काठमाडौं फर्किए लगत्तै सञ्चारकर्मीसँगको अन्र्तक्रियामा अध्यक्ष महतोले आफ्नो सोझै प्रदेशमै जाने योजना भए पनि प्रधानमन्त्रीले मधेस समस्या समाधान हुने आश्वासन दिएपछि काठमाण्डौ फर्किएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष महतोले आफू वार्ता विरोधी नभएको प्रष्ट पार्दै मधेसको माग वार्ता र संविधान संशोधन मार्फत समाधान गर्नुपर्ने वताउनुभयो । मुख्य विवादित विषय भनेको सीमाङकन नै भएकोले यसको विषयमा उधारोमा सहमति नहुने उहाँको कथन थियो । नयाँदिल्लीमा उपचार पश्चात भारतीय नेताहरुसँग भेटघाट भएको र भेटघाटमा उनीहरुले नेपालको अवस्थाप्रती चिन्ता प्रकट गर्दै शीघ्र समाधान गर्न सुझाव दिएको महतोले वताउनुभयो । अध्यक्ष महतोले मधेसको समस्या समाधानको निम्ति आफू भेटघाट र छलफलमा सक्रिय हुने बताउँनुभयो ।