३ माघ २०७२, आईतवार

पोखरामा मंगलवार देखि सुरु हुने १४ औं आहा रारा गोल्डकपको तयारी पूरा भएको छ । माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विदेश सहित १२ टिमको सहभागिता रहने बताइएको छ ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक सहारा क्लबका अध्यक्ष वीरभद्र आर्चायले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा थ्रिस्टार क्लब, लक्ष्मी हुण्डाई मनाङमस्र्याङदी क्लब, विभागिय टिम आर्मी, शसस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, झापा ११ , नवजनजागृति युवा क्लब सिमरा, आयोजक सहारा क्लब सहित ईन्डियन आर्मी गोर्खा ब्रिगेट टिम, युनाईटेड सिक्किम एफसी भारत र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेशले प्रतियोगितामा भाग लिने छन् । विजेताले पाँच लाख १ हजार १ रुपैया र उपविजेताले दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्राप्त गर्ने गर्ने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

aaha-gold-cup
अघिल्लो संस्करणको विजेताले ३ लाख ५१ हजार र उपविजेताले दुई लाख एक हजार प्राप्त गरेका थिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिड फिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जानकारी दिए । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगिता सम्पन्न गर्न ७९ लाख ६२ हजार खर्च अनुमान गरिएको छ भने ९९ लाख ९२ हजार आम्दानीको अपेक्षा आयोगकको छ । बचत रकम क्लबद्धारा सञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरुको भरणपोषण, शिक्षादिक्षा समेतमा खर्च गरिने आयोजकले जनाएको छ । क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सहारा एकेडेमीमा हाल १६ जिल्लाका २६ जना बालकहरु आश्रित छन् । प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV