
पर्यटनमन्त्री आनन्द पोख्रेलले बाराको निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण प्रक्रियाका लागि सम्भावना अध्ययन गर्ने बिदेशी कम्पनी नै बाधक भएको बताउनु भएको छ । उहाँले सम्भावना अध्ययनका लागि तयार गरिएको प्रतिवेदन नै विमानस्थल बन्न नदिने गरी बनाइएको जिकिर समेत गर्नु भएको छ ।
बाराको निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणका लागि भैरहेको पूर्ब तयारीका बारेमा छलफल गर्न आइतबार बसेको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री पोखरेलले आफुले मन्त्री पदमा रहेर भन्न हुने या नहुने हो त्यो थाहा नभएको भन्दै यथार्थमा विमानस्थल वन्न नदिन धेरै चलखेल भएको दावी गर्नुभयो ।
उहाँले संसदको समितिमा यथार्थ भनाई राख्नु आफ्नो दायित्व भएको बताउदै सम्भावान अध्ययनका लागि तयार गरिएको प्रतिवेदन बिमानस्थल बन्न नदिन बनाइएको जिकिर गर्नुभयो । उहाँले यस्मा समितिलाई गहिरिएर अध्ययन गर्न पनि आग्रह गर्नुभयो ।
मन्त्री पोखरेलले विमानस्थल सम्भाव्यता अध्ययनका लागि एलएमडब्लु नामक प्रतिबेदनले बिमानस्थलसंगै एयरपोर्ट सिटी पनि एक साथ बनाउने भन्नु नै बिमानस्थल बनाउन नदिने खेलको रुपमा आफुले बुझेको बताउनुभयो ।
निजगढमा एयरपोर्ट सिटी प्राथमिकता नभई प्राथमिकता बिमानस्थल भएकोले अध्ययनका नाममा बिमानस्थल बन्न नदिनेखालका यस्ता हरकत रोक्नुुपर्ने बताउनुभयो । उहाँले कुनै बहाना र झञ्जटिलो प्रक्रिया हटाइदिने हो भने निजगढ बिमानस्थल दुुई खर्बमा चाडै नै बनाउन सकिने पनि प्रष्ट पार्नुभयो ।
उहाँले एयरपोर्ट सिटी पनि एक साथ बनाउने भनेर ५ खर्ब चाहिन्छ भन्नु विमानस्थल बन्न नदिने खेल हो भन्ने प्रष्ट बुझ्नु पर्ने बताउनुभयो ।
समितिले पनि चांडो प्रक्रिया अगाडि बढाउने गरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । बैठकमा सभासदहरुले अहिले जुन गतिमा काम भैरहेको छ त्यो हिसाबले हो भने अझै कैयौ बर्ष सम्म निजगढ बिमानस्थल बन्न नसक्ने बताएका छन ।