३ माघ २०७२, आईतवार

नेपाली काँग्रेसका नेता वीरेन्द्र दाहालको उपचारका क्रममा शनिबार राति ६७ वर्षको उमेरमा निधन भएको छ ।

पार्टीमा सधैँ पद बाहिर रहेर निरन्तर सक्रिय रहेका नेता दाहालको त्रिभुवन शिक्षण अस्पतालमा मृगौला रोगको उपचारका क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

काँग्रेसकासभापति सुशील कोइरालालगायत काँग्रेस नेता कार्यकर्ताले शिक्षण अस्पताल पुगी स्वर्गीय नेता दाहालको पार्थिव शरिरमा श्रद्धाञ्जलि अर्पण गरेका थिए।

विसं. २००५ मा तेह्थुममा जन्मिएका नेता दाहालपरिवार प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण २०१८ सालमा तत्कालीन सरकारले सर्वस्वहरण गरेपछि परिवारसहित भारत प्रवासमा गएका थिए ।

भारत प्रवासमा रहदा काँग्रेस नेता विपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतसँग भेट भएपछि त्यसयता निरन्तर कोइराला परिवारको निकट सहयोगीका रुपमा दाहालले काम गर्नुभएको उनका भाई पिताम्बर दाहालले बताए ।

काँग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालासँगै नेपाल फर्किएका स्व दाहाल त्यसयता कोइरालाको निकट सहयोगीका रुपमा रहेर राजनीतिमा सक्रिय रहे ।

दाहाल अविवाहित थिए, उनका पाँच दाजुभाई र तीन दिदिबहिनी छन् । स्व दाहालको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले जानकारी गराएको छ । रासस

LIVE TV