
प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरमा आज पनि छलफल हुँदैछ । सिंहदरबारमा अपरान्ह २ बजेपछि बस्ने कार्यदलको वैठकमा मधेसी मोर्चाले उठाएका ११ बुँदे माग सम्बोधन गर्ने विषयमा नै छलफल केन्द्रीत हुने कांग्रेस केन्द्रीय सदस्य एवम् कार्यदल सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।
यसअघि हिजो भएको छलफलमा आन्दोलनरत मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेश सीमाकंन टुंग्याउन सहमत भएको छ । तर मोर्चाले त्यसका लागि प्रष्ट कार्यविधि बनाउनु पर्ने अडान राखेको छ । बैठकमा तीन दलीय कार्यदलले सीमाकंनको विवाद उच्चस्तरीय समितिमार्फत तीन महिनाभित्रै टुंग्याउने प्रस्ताव अगाडि सारेका थियो । मोर्चाका नेताहरुले पछिल्ला दिनका छलफलले वार्ता सकारात्मक दिशामा अगाडि बढेको र विवाद साघुरिँदै गएको वताउँदै आएका छन् ।
विराटनगरको जोगवनी नाकामा आफ्ना अध्यक्ष राजेन्द्र महतोमाथि भएको घटनाबारे सरकारले माफी नमागेसम्म बैठकमा सहभागी नहुने बताउँदै आएको सद्भावना पार्टी पनि शनिवारबाट कार्यदल बैठकमा सहभागी हुन थालेको छ । प्रमुख तीन दल र मधेसी मोर्चा दुवै पक्ष माघ ५ गतेभित्रमा सहमति जुटाउन सहमत छन् ।