३ माघ २०७२, आईतवार

लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा अंकतालिकाको पुछारमा रहेको एस्टन भिल्लासँग १–१ को बराबरी खेलेको लिसेस्टर सिटी आर्सनललाई पछि धकेल्दै शीर्ष स्थानमा उक्लिएको हो ।
२८ औं मिनेटमा सिन्जी ओकाजाकीले लिसेस्टरलाई सुरुवाती अग्रता दिलाएपनि ७५ औं मिनेटमा एस्टन भिल्लाका रुडी गेस्टेडले बराबरी गोल फर्काएपछि खेल १–१ को बराबरीमा सकियो । जेमी भर्डीको पोस्ट प्रहार एस्टन भिल्लाका गोल किपरले रोके भने रियाद महरेजले गोल गर्ने मौका गुमाएकाले लिसेस्टर बराबरीमा रोकिएको हो । शीर्ष स्थानमा उक्लिएको लिसेस्टरको २२ खेलबाट ४४ अंक भएको छ । लिसेस्टर सिटी म्यानचेस्टर सिटी र आर्सनल भन्दा एक अंकले अघि छ ।

jamie-vardy-leicester-city

आइतबार राति स्टोकसँगको खेल बराबरी गरेमा पनि आर्सनल शीर्ष स्थानमा फर्किने छ । आर्सनलको २१ खेलबाट ४३ तथा म्यानचेस्टर सिटीको २२ खेलबाट ४३ अंक छ । पुछारको एस्टन भिल्लाको २२ खेलबाट १२ अंक मात्रै छ । शनिबार राति नै भएको न्युक्यासलले वेष्ट ह्यामलाई २–१ तथा साउथह्यामप्टनले वेष्ट ब्रोमलाई ३–० ले हरायो । हार पछि पनि वेष्ट ह्याम २२ खेलबाट ३५ अंकसहित पाँचौं स्थानमा छ । समान २२ खेलबाट ३० अंक जोडेको साउथह्यामप्टन दशौं, २७ अंकसहित वेष्ट ब्रोम १३ औं तथा २१ अंक जोडेको न्युक्यासल १७ औं स्थानमा छ ।

LIVE TV