
१८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिका, ख्वप: इन्जिनियरिङ कलेज, ख्वप: कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गरेको शैक्षिक प्रदर्शनी एवं भूकम्प प्रतिरोधी नमुना भवन प्रदर्शनीमा स्थानीयवासीको भीड लागेको छ ।
गत वैशाख १२ गतेको महाभूकम्पले भक्तपुरका २६ हजार घर भत्किएपछि अब घर कसरी बनाउने र बचेका घरलाई पनि कसरी जोगाउने भन्ने जानकारी लिनका लागि प्रदर्शनी अवलोकन गर्न आउनेको भीड नै लागेको हो ।
प्रदर्शनीमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप: इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीले तयार पारेका घरहरू अवलोकनमा राखिएका छन् । ख्वप: इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले दुईवटा कलेजका दुई सय २९ जना विद्यार्थीले तयार पारेको २८ वटा घर एवं एक रोबर्ट प्रदर्शनीमा राखिएको जानकारी दिए । प्रदर्शनीले स्थानीयवासीलाई अब घर बनाउँदा भूकम्प प्रतिरोधी घर कसरी बनाउने, जगलाई कसरी बलियो बनाउने, घरको रेक्ट्रोफिटिङ अर्थात् सुदृढीकरण कसरी गर्ने, बनिसकेका घरलाई कसरी बलियो बनाउने भन्नेबारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको उनको भनाइ थियो ।प्रदर्शनीमा सिमेन्टको प्रयोग गर्ने, ढुंगा र माटोको घरलाई कसरी भूकम्प प्रतिरोधी बनाउने, के गर्दा भूकम्पले घर भत्काउँदैन र कस्तो घर बनाउन हुन्न भन्ने जानकारी प्रदर्शनीले दिएको कार्यक्रमका संयोजक मञ्जीप शाक्यले जानकारी दिए ।
प्रदर्शनीमा भक्तपुर नगरपालिका–१ र २ जेँला, वडा नं १० लगायतका वैशाखको भूकम्पले धेरै घर भत्काएका क्षेत्रमा अब कस्तो घर बनाउने भन्ने नमुनासमेत प्रस्तुत गरिएको थियो । बाँसको घर, ढुंगा–माटोको सस्ता, तर बलिया घर कसरी बनाउने भन्नेबारेमा समेत जानकारी गराइएको थियो ।स्थानीय बासिन्दा एवं विद्यार्थीको दिनभरि नै भीड लागेको जानकारी दिँदै कलेजका शिक्षक रवीन्द्र फोजूले प्रदर्शनीमा चित्रकला, भूकम्पले भत्काएको घरका तस्बिर, कोलाज र नारा पनि प्रतियोगितात्मक प्रदर्शनी गरिएको बताए । रासस