
केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरको गुरुयोजना अनुसार निर्माण कार्य धमाधम काम सुरु भएको छ । केदारनाशको शीर भएको पुष्टि भएपछि भक्तपुरको डोलेश्वर महादेव मन्दिरको दर्शन गर्ने दर्शनार्थीको संख्या पनि दिनानुदिन बढ्दो छ । डोलेश्वर मन्दिरको गुरुयोजना अनुसारको निर्माणका लागि नागरिक तथा पर्यटन मन्त्रालयले १ करोड बजेट छुट्याएको छ । कृष्णगोपाल श्रेष्ठका परिवारले मूलमन्दिर पुनर्निर्माणका लागि पाँच करोड एक सय एघार रुपैयाँ प्रदान गरेकोमा पहिलो किस्ता स्वरुप १ करोड ५० लाख एक सय एघार रुपैयाँ प्रदान गरिसकेका छन् । मन्दिर पुनर्निर्माणको सम्पूर्ण लगानी ब्यहोर्ने गरी श्रेष्ठले सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको सातौ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल सरकारले मन्दिरको गुरुयोजना अनुसार निर्माण कार्य पूरा गर्न उक्त बजेट विनियोजन गरिएको बताउनु भएको छ । मन्त्री पोखरेलले भारतीय पर्यटक डोलेश्वर भित्र्याउनको लागि सक्दो पहल गर्नुपर्नेमा जोड दिदै पर्यटन प्रवद्र्धनको लागि डोलेश्वर महत्वपूर्ण स्थान हुने बताउनु भयो ।
मन्त्री पोखरेलले देशको पर्यटन प्रवद्र्धनमा आफूले विभिन्न योजना सारेर अगाडि बढेको बताउँदै सिंगो भारतीयलाई नेपालमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनु भयो । यदी हिन्दु धर्मालम्वली पर्यटकहरु चाँगुनारायण, डोलेश्वर वा अनन्तलिंगेश्वर नपुगेसम्म पर्यटकको नेपाल भ्रमण पूरा नहुने भन्दै धार्मिक पर्यटनको विस्तारका लागि सरकारले योजना अगाडि बढाइरहेको बताउनु भयो । मन्दिरको गुरुयोजना अनुसारको निर्माणका लागि कुल ५५ करोड लागत लाग्ने मन्दिर संरक्षण एव विकास समितिले जनाएको छ ।