
आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ, पुरुष भए आफुँ मात्रै, यो भनाईले अझैपनि कुनै न कुनै रुपमा समाजमा मेल खादै आएको पाईन्छ । आमा शिक्षित भए त्यसको प्रत्यक्ष प्रभाव आफ्ना छोराछोरीमा समेत देखिन्छ भन्ने उदाहरण म्याग्दीमा पनि देखिएको छ । म्याग्दीका ग्रामीण क्षेत्रका महिलाहरू निरक्षरबाट साक्षर हुदै परिवार र गाउँलाई नै शिक्षाको महत्वका बारेमा खुलेर भन्न सक्ने भएका छन् । जिल्ला शिक्षा कार्यालयको प्रौढ शिक्षा, विद्यालयमा रहेका पुस्तकालयले समेत अभिभावकलाई निरक्षरबाट साक्षर बनाउने अभियानमा प्रभावकारी भएको छ । म्याग्दी कुहुँ–८ थाईवाङकी चिना रन्तिजा अहिले सहजै पुस्तक पढ्न सक्छिन् । निरक्षर अवस्थामा रहेकी रन्तिजाले शिक्षाको महत्वका बारेमा खुलैर सार्वजनिक स्थानमा भन्न र मन लागेको पुस्तक पढ्न सक्ने भएकी छिन् । गाउँमा रहेको थाईवाङ निमावीमा रहेको पुस्तकालयबाट नियमित पुस्तक पढ्ने रन्तिजा छोरीको सहयोगमा क,ख, ग सिक्दै अहिले गाउँकै नमुना अभिभावक बनेकी छिन् । थाईवाङ निमावीमा कक्षा ३ मा अध्ययरत छोरी सन्ध्याको सहयोगमा रन्तिजा छोरीको विद्यालयको पाठयक्रम र पुस्तकालयका पुस्तकको नियमित प्रयोगले आफुँमा परिवर्तन ल्याएको रन्तिजाको भनाई छ ।
रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गाजा यूवा क्लव नेपालले सन् २०१४ मा स्थापना गरेको पुस्तकालय स्थापनाको केही दिन छोरीले पुस्तकालयको पुस्तक ल्याएर आउँदा पढाई बिग्रन्छ भन्ने सोचाई राखेकी रन्तिजाले अहिले छोरीको झोलामा विभिन्न स्टिकर लगाएका पुस्तक छन कि छैनन भनेर समेत खोज्ने गरेकी छन्। रन्तिजा जस्तै गाउँकै बृद्ध पूर्ण बहादुर पुर्जाको दैनिकी समेत पुस्तकालयको सहायतमा परिवर्तन भइरहेको छ । भारतीय सेनाबाट अवकाश प्राप्त पुर्जाले छोरी रेखा, नाती सनम, सरन सनिल पुर्जाले नियमित पुस्तक लैजान थालेपछि आफुँ पनि पुस्तकालय प्रति आर्कषित भएको बताउँछन् । सधै छोरी र नातीले रंगिचङ्गिी पुस्तक ल्याएर आउन थालेपछि आफुँले पनि पुस्तकालयमै पुगेर पुस्तक हेर्दा छक्क परेको पुर्जाको अनुभव सुनाए । सामान्य लेखपढ गर्न आएपछि नियमित नहुदाँ विर्सदै गएको बताउँदै पुर्जाले कक्षा १ का विद्यार्थीले पढ्ने पुस्तकबाट सुरु गरेपछि माथिल्ला कक्षाका विद्यार्थीका पुस्तक समेत पढ्न सक्ने भएको बताउँछन् । पुस्तकालयको पहुँचमा अभिभावक समेत पुग्न थालेपछि बर्षभरी धेरै पुस्तक पढ्ने अभिभावलाई समेत सम्मान गर्ने संस्कारको समेत विकास गरिएको छ ।