
पूर्वकै पर्यटकीय क्षेत्र तालतलैया रहेको इटहरी ३ मा अहिले बनभोज खाने र घुम्न आउने पर्यटकहरुको संख्या दिनानुदिन बढ्दो छ । पर्यटकको ताँत लाग्ने स्थानमा स्थायी प्रहरी चौकी नहुँदा असुरक्षा र अपराधका घटना बढिरहेको भन्दै स्थानीयवासीले स्थायी प्रहरी चौकी निमार्णकालागि ३० लाख बराबरको जग्गा हस्तान्तरण गरेका छन् । इटहरी ३ पुराण चोकका खतिवडा परिवारले आफ्ना स्वर्गीय बाबु हरिचरण खतिवडाको स्मृतिमा २ कट्ठा जमिन शुक्रबार हस्तान्तरण गरेको हो । मनमाया र रणमाया खतिवडा तथा छोराहरु हरि खतिवडा, चन्द्रप्रसाद खतिवडा, बिन्द खतिवडा, बालकृष्ण खतिवडा, चिन्तामणी खतिवडा र सरोज खतिवडाले प्रहरी चौकी निर्माणका लागि जग्गा निःशुल्क प्रदान गर्नु भएको हो । जग्गा हस्तान्तरणका अवसरमा सांसद रेवतीरमण भण्डारीले शान्ति सुरक्षाका लागि निःशुल्क जग्गा दिएर राज्यलाई ठूलो गुन लगाएको भन्दै खतिवडा परिवारप्रति आभार व्यक्त गर्नुभयो । पूर्वकै पर्यटकीय क्षेत्र तालतलैयाको विकासका लागि राज्यले बर्षेनी रकम विनियोजन गर्न थालेको र सो क्षेत्र पूर्वी नेपालकै धेरै पर्यटक आउने स्थानका रुपमा विकास हुने भएकाले शान्ति सुरक्षा पनि मजबुत हुन जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले शान्ति सुरक्षाका लागि स्थानीयवासी र प्रहरीबीचको असल सहकार्य जरुरी पर्ने भन्दै त्यसका लागि स्थानीयवासीका तर्फबाट जमिन नै उपलब्ध गराईएपछि प्रहरीले इमान्दारी पूर्वक जनताको सेवा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
प्रहरी चौकी निर्माण समितिका अध्यक्ष बालकृष्ण विष्टको अध्यक्षतामा भएको कार्यक्रममा तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो ।