
मगर, थारू, छन्त्याल र राउटे समुदायको राष्ट्रिय चाड माघेसंक्रान्ति । शुक्रबार उपत्यकामा बसोवास गर्ने मगरले टुँडिखेलमा र थारूहरूले रंगशालामा जम्मा भएर सामूहिक रूपमा यो पर्व मनाए । टुँडिखेल र रंगशालाको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरे । टुँडिखेलमा भांग्रा र ढोरा लगाएर सम्बोधन गरेका ओलीले रंगशालामा धोती र ढोरा लगाए । दुवै ठाउँको सम्बोधनमा ओलीले केही नयाँ र केही पुराना योजना सुनाए :
१. काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?
काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र उत्तर–दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के गर्ने ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटार गरेर समय काट्ने ? म यसो गर्छु भन्यो भने केहीलाई रिस उठ्छ, केहीलाई हाासो उठ्छ । काम गरेर देशलाई अगाडि बढाएर जाने हो । कुनै बहादुर छ, नेपालमा दुई दिनभित्र केही गरिहाल्ने ? त्यस्तो छ भने भन्नुपर्यो । नभए मेरो योजना छ । त्यो योजना अगाडि बढ्छ । अचम्म लाग्छ । गर्छु भन्न पनि नपाइने ? काठमाडौंमा इलेक्ट्रिक कार र बस चलाउने कुरा गरेँ । मानिस आत्तिए । दुनियाँका अनेक सहरमा इलेक्ट्रिक बस र कार चल्छन् । यहाँ चल्न नहुने भन्ने छ ?
२. फोहोरमैलाबाट ग्यास निकाल्छौँ
फोटो झुन्ड्याउन होइन, देश परिवर्तन गर्न म सिंहदरबार गएको हुँ । विकास गर्न गएको हुँ, हेर्दाहेर्दै गर्छु । हामी फोहोरमैलाबाट ग्यास निकाल्छौँ । अन्यत्रबाट ग्यासका पाइप ल्याउँछौं । जेसुकै गरेर भए पनि जनताका घरका चुलोचुलोमा ग्यास पुर्याउने व्यवस्था गरिन्छ । मानिसहरू यस्तो किन भन्यो भन्छन् । मैले आजै साँझ तपाईंको चुलोमा ग्यास ल्याइदिने कुरा गरेको छैन । अलिकति समय लाग्छ, तर हामी गर्छौँ । बुद्धिजीवीहरूलाई थाहा होस्, कलमवाजहरूलाई जानकारी होस् । बंगलादेशमा पाइपबाट चुलोचुलोमा ग्यास पुगेको छ । विद्वान्हरूलाई थाहा छ कि छैन ? पाकिस्तानमा पनि ग्यास सिलिन्डर बोक्नुपर्दैन ।
३. मगर दाहिना हुँदा प्रधानमन्त्री मगर मेरा दाहिने, म मगरका दाहिने ।
अहिलेको सरकारमा शिवलाल थापा मगर मन्त्री हुनुहन्छ । राज्यमन्त्री नरदेवी पुन अर्को मगर हुनुहुन्छ । म मगरहरूसँग दाहिने छु कि छैन ? गुरुङहरू पनि दाहिने छन्, थारूहरू दाहिने छन्, राई–लिम्बू दाहिने छन् । आजभोलि एउटा शब्द चर्चामा छ मधेसी । मधेसीहरू मेरा दाहिने छन्, त्यसैकारण म प्रधानमन्त्री छानिएको हुँ ।
४. ओलीको पाइलो खेद्नेहरू पनि छन्
तपाईंहरू टेलिभिजन हेर्नुहुन्छ होला, रेडियो सुन्नुहुन्छ होला, पत्रपत्रिका हेर्नुहुन्छ होला, अनलाइनमा देख्नुहुन्छ होला । केपी ओलीको पाइलो खेदेर हिँड्नेहरू पनि छन् । तर जतिसुकै पाइलो खेदेर हिाडे पनि उनीहरूको योजना पार लाग्दैन, किनकि मगर मेरा दाहिने छन् ।
५. उपराष्ट्रपति को छ ?
महिला राष्ट्रपति बनाएका छौँ । महिला सभामुख बनाएका छौँ । सभामुख पनि महिला हुनुहुन्छ, उपराष्ट्रपति पनि महिला हुनुहुुन्छ (हाँसो) । महिला मगर सभामुख, उपराष्ट्रपति मगर, मन्त्री मगर, राज्यमन्त्री मगर । यहाँहरूलाई थाहा त छ, उपराष्ट्रपति देशको आज को छ ? मगर होइन ? सभामुख को छ ? मगर होइन ?
६. गरिब भइरहन सकिँदैन
अब नेपाललाई गरिब भइरहन दिन सकिँदैन । गरिब बनाइरहन हुँदैन । नेपाल समृद्ध देश हुनुपर्छ । नेपालजस्तो प्राकृतिक रूपले सम्पन्न देश, तर विकासको गति धिमा छ । यति सुस्त छ कि जुन कुरा अब हामी सहन सक्दैनौँ ।
७. सरकारले कानमा तेल हालेको छैन
कतिपय ठाउँमा साथीहरूले भन्ने गर्छन्, ‘जनताले दु:ख पाएका छन् । सरकार कानमा तेल हालेर बसेको छ ।’ होइन, सरकार कानमा तेल हालेर बसेको छैन । यो तीन महिनामा सरकारले भूकम्पबाट प्रभावित ठाउँका जनतालाई न्यानो कपडा पुर्याउनेदेखि धेरै काम गरेको छ । भर्खरै मात्रै हामीले न्यानो कपडाका लागि ६ अर्ब वितरण गरेका हौँ । २ गते राष्ट्रपतिले रानीपोखरीबाट पुनर्निर्माणको महाअभियानको थालनी गर्नुहुँदै छ ।
८. एक सय पाँच वर्षमा तीन सय मेगावाट
एक सय पाँच वर्षअघि नेपालमा जलविद्युत् आयोजनाको सुरुवात भयो । अहिले बेलुका हामीले तीन सय मेगावाट मात्र विद्युत् पाउँछौँ । संसारको दोस्रो जलस्रोतको धनी देश, ८३ हजार मेगावाटभन्दा बढी क्षमता हामीसँग छ । तर, हामीले उत्पादन जम्मा तीन सय मेगावाट मात्र गर्यौँ । बाढी आएका वेला साढे सात सय मेगावाट हुन्छ । यस्तो सुस्तका साथ नेपाल अगाडि जाँदैन ।
९. कसका लागि संविधान ?
यो नेपाल हामी सबैको देश हो । भोलि संविधानमा कस्तो हेरफेर चाहिन्छ, त्यो नेपाली जनताले निर्णय गर्ने हो । यो संविधान अरू कसैका लागि हामीले बनाएको होइन । यो संविधान मगर, गुरुङ, राई, लिम्बू, क्षेत्री, बाहुन, मधेसी, पहाडी, थारू, अल्पसंख्यक, दलित, पिछडा वर्ग, महिला, बुढापाका, बालबालिकाका लागि बनाएको हो ।
१०. सरकार आकाशबाट झरेको होइन
अहिलेको सरकार तपाईंहरूको साथमा छ । यो सरकार जनताको सरकार हो । आकाशबाट कसैले टिपेर झारेको सरकार होइन । जनताप्रति अहिलेको सरकारको जवाफदेही छ, जिम्मेवारी छ । यो सरकार छक्याएर, छलेर, अलमल्याएर जाने होइन । देशलाई अगाडि बढाउने संकल्प बोकेर अगाडि बढेको सरकार हो । – नयाँ पत्रिका