
काठमाडौं । सी माला लुट्न बिहीबार साँझ चक्कुले घाँटी रेटेर बौद्ध टुसालका ६० वर्षीय थेपाङ शेर्पाको हत्या भएको छ । हत्यापछि उनले घाँटीमा लगाएको एक करोडभन्दा धेरै पर्ने सी माला लुटपाट भएको प्रहरीले जनाएको छ । सेफको सी माला र पैसा भने चोरिएको छैन । शंकास्पद केही व्यक्ति पक्राउ परेको हत्यामा संलग्नको पहिचान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरहरी रेग्मीले बताएको नयाँ पत्रिकामा खबर छ ।
सी मालाले बढायो अपराध
डेरामा एक्लै रहेको वेला थेपाङको हत्या भएको हो । प्रहरीका अनुसार बिहीबार साँझ उनकी श्रीमती गुम्बामा गएका वेला हत्या भएको थियो । फर्किंदा श्रीमान्लाई मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । मृतक शेर्पा सी मालाको कारोबारमा संलग्न रहेको खुलेको छ ।
माला लुटेर भाग्दाभाग्दै पाँच पक्राउ
बौद्धमा २५ भदौमा पनि करोडौँको सी माला लुटपाट भएको थियो । लुटेर भाग्दाभाग्दै प्रहरीले मकवानपुरको भिमफेदीबाट पाँचजनालाई पक्राउ गरेको थियो । बौद्धस्तुपानजिकै छेर्तेन होटेलमा सी माला किन्न भन्दै भेट्न पुगेका उनीहरूले होटेलमा रहेका उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर करिब दुई करोड पर्ने सी माला लुटपाट गरेका थिए । लुटपाटमा संलग्न भुटानका डी दोर्जे लामा, छिरिङ लामा, भारतीय नागरिक आसित सैबो, नहिर अली र सरोज गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
के हो सी माला ?
सी माला एक जीवको अस्थिपञ्चरबाट बनाइने माला हो । पुरातत्त्व ऐनअनुसार सी मालाको कारोबार अवैध छ । बौद्ध धर्मावलम्बीमा यस्तो माला लगाएमा सधैँ राम्रो हुने र जे चाह्यो त्यही पुग्ने विश्वास छ । सोही कारण एउटै मालाको करोडौँमा कारोबार हुने गरेको छ । काठमाडौंको बौद्ध क्षेत्रमा अवैध रूपमा सी मालाको कारोबार हुँदै आएको छ । कारोबारमा तिब्बतीयन, भुटानी तथा भारतीयसमेत संलग्न छन् ।