काठमाडौं । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका बाबजुद पुसमा ग्यास आपूर्ति ४२ प्रतिशतले बढेको छ । ध्वस्त वितरण प्रणाली र कालोबजारीका कारण उपभोक्ताका सिलिन्डर भने रित्तै छन्, चुलो चिसै ।
नेपाल आयल निगमको तथ्यांकअनुसार पुसमा मात्र ९ हजार दुई सय टन ग्यास भित्रिएको छ । मंसिरमा यो परिमाण पाँच हजार दुई सय ८७ टन मात्र थियो । आयात यसरी बढे पनि कालोबजारीका कारण आम उपभोक्ताले ग्यासको गन्धसमेत सुँग्न नपाएको नागरिक दैनिकमा खबर छ ।
तराई बन्दसँगै भारतीय नाकाबन्दी सुरु भएपछि असोजमा स्वात्तै घटेको ग्यास आयात पुस महिनासम्म आइपुग्दा बढिरहेको छ । तैपनि उपभोक्ताहरुले सुरुकै महिना -असोज)को अभाव झेलिरहेका छनु । निगमको तथ्यांकले भने असोजदेखि पुससम्म हरेक महिना आयात बढिरहेको देखाएको छ ।