१ माघ २०७२, शुक्रबार

थारु समुदायको महान पर्व माघी शुक्रवार देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने यस पर्वमा उनीहरु एक आपसमा भेला भएर शुभकामना आदान प्रदान गर्ने गर्दछन् । काठमाण्डौमा बसोबास गर्ने थारु समुदायका बासिन्दाहरु दशरथ रङ्गशालामा भेला भएर माघी पर्व मनाएका छन् ।
माघी महोत्सव २०७२ नाम दिइएको कार्यक्रममा थारु समुदायका मानिसहरु आफ्नो मौलिक संस्कृति झल्काउने पहिरनमा उपस्थित थिए । महोत्सवमा थारु संस्कृति र मौलिकता झल्काउने परिकार सहितका बिभिन्न स्टलहरु राखिएका थिए । यसले थारु जातिको मौलिक पहिचानको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वाश छ ।
महोत्सवमा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थारु जातिको उत्थान र विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वाशन दिनुभएको छ । सबै नेपाली एकजुट भएर देश विकासका लागि अग्रसर हुनुपर्ने बताउँँदै उहाँले देश समुन्नत बनाउने आफ्नो अभियानलाई अव कसैले रोक्न नसक्ने चर्चा गर्नुभयो । कार्यक्रममा धारणा राख्ने थारु अगुवाहरुले भने आफ्नो अधिकारको लागि आवाज उठाउँदा राज्यले दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले देश र जनताको खास समस्यामा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराए । विगतका कमी कमजोरी सच्याँउदै देशमा विद्यमान संकटको समाधान गर्न सबै एकजुट हुने सन्देश माघी पर्वले दिने आयोजकको विश्वास छ ।

LIVE TV