१ माघ २०७२, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकाभित्र अबको १२ वर्षपछि भुस्याहा कुकुर (पब्लिक डग) लोप हुने अवस्थामा पुग्नेछ । भुस्याहा कुकुर लोप पार्ने अभियानको अगुवाइ काठमाडौं महानगरपालिकाले थाल्ने भएको छ । महानगरभित्रका छाडा कुकुरको स्थायी बन्ध्याकरण गरिने भएपछि उपत्यकाभित्रका भुस्याहा कुकुर लोप हुने अवस्थामा पुग्ने भएका हुन् ।

dog

काठमाडौं महानगरपालिकाले छाडा कुकुरको सामूहिक बन्ध्याकरण गर्न लागेको हो । यसका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । जसमा महानगरपालिकाको खर्च पाँच प्रतिशत हुनेछ । बाँकी ९५ प्रतिशत अमेरिकी संस्था ह्युमेन सोसाइटी इन्टरनेसनलले खर्च गर्नेछ । त्यसबाहेक प्राविधिक उत्पादनका लागि लाग्ने खर्च पनि सोसाइटीले नै बेहोर्नेछ । महानगरपालिकाले ह्युमेन सोसाइटी इन्टरनेसनलसँगको सहकार्यमा छाडा कुकुरको सामूहिक बन्ध्याकरण गर्न लागेको नयाँ पत्रिकामा खबर छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बन्ध्याकरणको काम एक महिनाभित्रै सुरु हुनेछ । ‘महानगरपालिकाभित्रका पब्लिक डग (भुस्याहा कुकुर) को स्थायी बन्ध्यारकण गरिन लागिएको छ । यसका लागि अमेरिकी संस्थासँग सहकार्य गरिनेछ । सबै काम भइसकेका छन् । संस्थासँग सम्झौता गर्न मात्रै बाँकी छ । साता दिनभित्र त्यो पनि हुन्छ । त्यसपछि बन्ध्याकरणको काम अघि बढ्छ,’ उनले भने । बन्ध्याकरण अभियान सुरु गरिएको १२ वर्षपछि उपत्यकामा भुस्याहा कुकुर पूर्ण रूपमा नियन्त्रणमा आउने महानगरपालिकाको दाबी छ । महानगरपालिकाका प्रशासन तथा संगठन विभाग प्रमुख हरिबहादुर कुँवरले १२ वर्षपछि उपत्यकामा भुस्याहा कुकुर नियन्त्रण हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV