३० पुष २०७२, बिहीबार

बैशाख १२ गते गएको विनाशकारी भुकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका सरकारी कार्यालयहरु पुनर्निर्माण नहुँदा कर्मचारी र सेवाग्राहीहरु मर्कामा परेका छन् । भूकम्प गएको ९ महिना वितिसक्दा पनि कार्यालयहरुको पुनर्निर्माण नहँुदा कर्मचारीहरु र सेवाग्राहीहरुले त्रासका बिचमा नै सेवा दिने र लिने गरेका छन् । जिल्लाको प्रमुख बस्ने जिल्ला प्रशासन कार्यालय अर्थात सीडीओ कार्यालय बाहिरीबाट हेर्दा जति सुन्दर देखिन्छ तर भित्री अवस्था भने दयनीय छ । कार्यालयको भित्री भाग पूरै चर्केको छ । भूकम्प लगतै आएका प्राविधिक टोलीले भवनमा बस्न नहुने भन्दै रातो चिन्ह लगाए पनि त्यसको वेवास्ता गर्दे त्यही भवनबाट दैनिक काम हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी गोर्कणमणि दुवाडी भने खासै ठूलो क्षति नभएकाले यहीबाट सेवा दिने गरेको बताउनु हुन्छ ।
vlcsnap-3752-04-07-15h19m16s892
सीडीओको कार्यालय मात्रै नभई महिला विकास कार्यालयको अवस्था पनि उस्तै छ । बाहिरी भाग राम्रो देखिएपनि भित्री भाग भने पूरै भत्किएको छ । काम गर्न आफुहरुलाई डर लागेपनि बाध्यताले बस्नु परेका कार्यालयकी एक कर्मचारीको गुनासो छ । जिल्ला कारागारको अवस्था पनि उस्तै छ । भूकम्पले कारगार भवन भत्केपछि त्यहाँ रहेका सबै कैदीहरु फरार भएका छन् । केही कैदीबन्दी सम्र्पकमा आए पनि अझै धेरै फरार छन् । अहिले भइरहेका स्थानमा कारागार नै नराख्न दबाब आएको जिल्ला कारगार प्रमुखको भनाई छ । यता जिल्ला अदालतको हालत पनि उस्तै छ । भूकम्प लगतै अस्थायी टहरामा दैनिक कामकाज सुरु गरेका अदालतले भने अहिले भवन पुनर्निर्माण सुरु गरेको छ । भूकम्पले अदालतमा क्षति पु¥याएपछि अहिले पनि ३६ हजार ९ सय थान मुद्धाको मिसील त्यही भवनमा रहेको जिल्ला अदालत सिन्धुपाल्चोकका श्रेष्तेद्धार महेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा जिल्ला विकास समितिको कार्यालय केही व्यवस्थित देखिएपनि दैनिक काममा भने समस्या भएको स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताउनु हुन्छ । जिल्लाका प्राय सबै गाविसहरु ध्वस्त भएका छन् । केही गाविसहरु पुनर्निर्माणको तयारी भइरहेको स्थानीय विकास अधिकारी शाहीले जानकारी दिनुभयो । जिल्ला अस्पताल चौताराको केही वर्ष अगाडि निर्माण सम्पन्न भएको भव्य भवन भत्केपछि यतिबेला बिरामीहरुलाई पालमुनी नै उपचार गराउनु पर्ने बाध्यता रहेका छ । जिल्लाका प्राय सबै स्वास्थ्य चौकीहरु भुकम्पमा ध्वस्त भएपछि गाउँ गाउँमा बिरामीहरुको उपचारको लागि समस्या भएको जिल्ला अस्पताल चौताराका डाक्टर सागरकुमार राजभण्डारीले जानकारी दिनुभयो । हुनत सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माघ २ गतेदेखि पुनर्निर्माण कार्य आरम्भ गर्दैछ । पुनर्निर्माणको क्रममा जनता एवं सेवाग्राहीको बाक्लो आवागमन हुने कार्यालयहरुको भवन सोही अनुरुप निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ र महाविनाशकारी भूकम्पको शिक्षा पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV