
नाकावन्दीको नाममा नेपालीको भान्साको अनिवार्य वस्तु खाने तेलको मूल्य छुनै नसकिने गरी अकासियो । नियमित प्रयोगमा आउने खाने तेल छुनै नसक्ने स्थितिमा पुगेपछि चुलिएको उपभोक्ताको आक्रोशसंगै यस्को मूल्यमा केही नियन्त्रण गरियो पनि तर पुरानो अवस्थामा तेलको मूल्य फर्किने कुनै संकेत भने अझै देखिएको छैन् । नाकाबन्दीको समयमा अभावको मौका छोप्दै व्यापारीले सिन्डिकेट तथा कार्टेलिङ गरेर खानेतेल मूल्य ह्वात्तै बढाए । अस्वाभाविक रुपमा खानेतेलको मूल्य बृद्धि भएको उपभोक्ताको गुनासो यसरी चुलियो, जस्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभाग र प्रहरीको ध्यान तानेरै छाड्यो । बजारको व्यापक अनुगमन गरी खाने तेलको मूल्य केही घटाए पनि पुरानै ल्याउन भने नसकिएको वाणिज्य तथा आपुर्ति विभागका निर्देशक हरि नारायण बेल्बासे स्वीकार्नु हुन्छ ।
खाने तेललाई पुरानो अवस्थामा ल्याउनलाई उद्योगहरु विभिन्न समस्या देखाएकोले पुरानै अवस्थामा ल्याउन नसकेको निर्देशक वेल्वासेले बताउनु भयो । चाडपर्वको अवसरमा खानेतेलको बढी माग भएको र नाकाबन्दीको जस्ता कारण देखाएर तेलमा व्यापारी र व्यवसायीले कालोवजारीलाई चुल्याउने मौका पाएका थिए । तेल उत्पादन गर्ने व्यवसायी र व्यापारीहरु अनुगमनको क्रममा पनि तेल झै चिप्लो बनेर फुत्किए । जस्को मूल्य उपभोक्ताले लामो समय व्यहोर्नु प¥यो । केहि दिनयता बजारमा खानेतेलको मूल्य घट्ने क्रममा रहेको छ । नाकावन्दी सहज हुँदै गएको र सीमानाकाको अवरोध पनि हटेको देखाउदै अब तेल व्यवसायी र व्यापारीलाई मूल्य घटाउन पनि सहज भएको छ ।